३३ वर्षिय युवा बने बीमा प्राधिकरणको अध्यक्ष
काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।
सञ्चार, वकालत, र कर्पोरेट क्षेत्रमा अनुभव हासिल गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ ।
व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन, र अर्थतन्त्र विश्लेषणमा दखल राख्ने ओझा हालसम्मकै कान्छा प्राधिकरण अध्यक्ष हुन् । उहाँ ३३ वर्षका हुनुहुन्छ ।
अध्यक्ष पदका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम सिफारिस गरेको थियो ।
यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा पर्नुभएकाे थियाे । उहाँको निलम्बनपछि प्राधिकरणको अध्यक्ष पद रिक्त थियो ।
तर, शरद ओझासँग बीमा कम्पनीमा प्रत्यक्ष रूपमा काम गरेको अनुभव भने छैन ।


प्रतिकृया दिनुहोस