• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

मन्थली बचत स्थापनाको २८ वर्ष पुरा, बचत रकम एक अर्ब नाघ्यो 

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको २८ वर्ष पुगेको छ । 

स्थापना दिवसको अवसरमा सहकारीले आइतबार मन्थलीमा एक कार्यक्रम आयोजना गरेको छ । सहकारीका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष घिमिरेले सहकारी स्थापनादेखि हालसम्म सञ्चालन गरेका गतिविधि बारे जानकारी दिनुभएकाे थियाे। 

कार्यक्रममा बोल्दै घिमिरेले सहकारीमा हाल १७ हजार सदस्य भएको बताए । सहकारीमा हाल बचत रकम १ अर्ब नाघेको र ऋण लगानी ८९ करोड रहेको जानकारी घिमिरेले बताउनुभयाे । सो संस्थाको शेयर रकम ९ करोड ४३ लाख रहेको छ भने जगेडा कोषमा ३ करोड ३९ लाख, कुल सम्पत्ति १ अर्ब ३७ करोड ६५ लाख रहेको छ । 

स्थापना दिवस कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले जगदीश घिमिरेको उपहारको रूपमा रहेको मन्थली बचतलाई अझ बलियो बनाएर लैजानु पर्ने बताउनुभयाे । रामेछाप जिल्लाको सहकारी अभियान र बचत गराउने कुरामा मन्थली बचतको ठुलो भूमिका रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयाे।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब लब श्रेष्ठले संस्थाकाे दिगोपनलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयाे मन्थली बचत यहाँसम्म आइपुग्नुको मुख्य कारण दिगो पनलाई केन्द्रमा राखेर काम गर्नु नै भएको उहाँले बताउनुभयाे । 

कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले सबै मिलेर काम गर्ने हो भने सहकारी र देश बन्ने बताउनुभयाे । सहकारी सञ्चालक विश्वासपात्र हुनुपर्ने बताउँदै विश्वासले नै सहकारी टिक्ने उहाँको धारणा छ । 

कार्यक्रममा संस्थाका पाँच जना बाल सदस्य, पाँच जना उत्कृष्ट बचतकर्ता, उत्कृष्ट पाँच ऋणी सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो । यसै गरी वातावरण संरक्षणको लागि टेवा पुर्‍याउन केही शेयर सदस्यलाई विद्युतीय चुल्हो वितरण गरेको छ । सो सहकारीले सहकारीका सबै शेयर सदस्यसम्म विद्युतीय चुल्हो पुर्‍याउने निर्णय गरेको छ । 

 

प्रतिकृया दिनुहोस