रामेछापको नवजागरण बचत संरक्षित पुँजी कोषको रकम फिर्ता गर्ने जिल्लाको एक मात्र सहकारी
रामेछाप । मन्थलीको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले संरक्षित पुँजी फिर्ता कोषबाट आफ्ना शेयर सदस्यलाई रकम फिर्ता गरेको छ ।
शनिबार एक कार्यक्रम आयोजना गरी संस्थाले नाफाबाट आएको जगेडा कोषको रकमबाट संरक्षित पुँजी कोषमा गएको रकम शेयर सदस्यलाई वितरण गरेको हो । सहकारीले सो कोषको १६ लाख ९८ हजार रुपैँया सेयर सदस्यलाई फिर्ता गरेको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिनुभयो ।
नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सोमेश थापाको अध्यक्षता तथा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सबैभन्दा बढी रकम फिर्ता पाउने शेयर सदस्यहरूलाई चेक प्रदान गरिएको थियो । अन्य सदस्यको भने खातामा नै रकम पठाइने उदासले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यति बेला शेयर सदस्यकै हित गर्ने र ठगी गर्ने नियोजित उद्देश्यले खोलिएका सहकारी देशमा रहेका बताउनुभयो । यी दुई खालका सहकारी बिचको भिन्नता पहिचान गर्न आवश्यक रहको श्रेष्ठले बताउनुभयो । नियोजित रूपमा खोलिएका सहकारी देशकै लागि चुनौती बनेका उहाँको धारणा छ ।
विगतमा गाउँ गाउँमा सरकारले एक लाख रुपैँया दिएर खोलेका कृषि सहकारी कहाँ छन् भन्ने कुरा पनि खोजी हुनु पर्ने र सरकारी रकम लिएर बदमासी गर्ने सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन बलियो अनुगमनको संयन्त्र बनाएर परिचालन गर्न आवश्यक रहेको श्रेष्ठले बताउनुभयो । त्यति बेलाका धेरै सहकारी पनि गलत नियतले खोलिएकाले अहिले यो समस्या आएको उहाँले स्पष्ट पार्नुभयो ।
आफ्ना शेयर सदस्यका बिचमा सफा नियतले नियमित काम गर्दै आएका कुनै पनि सहकारी समस्यामा नरहेका उहाँले स्पष्ट पार्नुभयो । केही सहकारीका कारण सहकारी क्षेत्र बदनाम भएको उहाँले बताउनुभयो । सहकारी ठग्दा केही हुँदैन भन्ने कुराको जग त्यसले पनि स्थापना गरेको श्रेष्ठको धारणा छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष सोमेश थापाले आफूहरू सहकारी सम्बन्धी ऐन र संस्थाका विनियम बाहिर नजाने बताउनुभयो । सबैको सहयोगले संस्था अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै शेयर सदस्यलाई संरक्षित पुँजी कोषबाट रकम फिर्ता गर्ने जिल्लाको एक मात्र सहकारी नवजागरण बचत तथा ऋण सहकारी संस्था भएको उहाँले दाबी गर्नुभयो ।
सबै सहकारीले सो कोषमा रकम छुटाउनै पर्ने कानुनी व्यवस्था भएको बताउँदै अन्य सहकारीले सो रकम किन फिर्ता गरेका छैनन् भन्ने विषयमा खोजी गर्न उहाँले नियामक निकायहरूलाई अनुरोध समेत गर्नुभयो ।
.jpg)
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष श्याम थापा, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल लगायत सहकारीका छाता संगठनका प्रतिनिधिहरू, संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समिति, उपसमिति, शेयर सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाको उन्नयनको लागि योगदान गर्नुभएकोमा नारायणदास श्रेष्ठ, संस्थाका पूर्वअध्यक्ष श्याम थापा लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
९ हजार ९ सय ९२ शेयर सदस्य रहेका सो सहकारीले अहिले ७३ करोड रुपैँयाको कारोबार गरिरहेको छ । संस्थाको शेयर पुँजी ४ करोड ४६ लाख ४८ हजार नाघेको छ भने ५६ करोड ७६ लाख ५६ लाख रुपैँया बढी बचत निक्षेप रहेको छ ।
संस्थाले ३६ करोड ९१ लाख २३ हजार रुपैँया ऋण लगानी गरेको छ । जगेडा कोषमा ६ करोड ९० लाख ५२ हजार रुपैँया रहेको संस्थाको अन्य कोषमा १ करोड ४० लाख २० हजार रुपैँया, ऋण सुरक्षण कोषमा २ करोड ९७ लाख ५४ हजार रुपैँया रहेको छ ।


प्रतिकृया दिनुहोस