राष्ट्रिय कर दिवस : उत्कृष्ट करदाता सम्मानित, सबैभन्दा धैरै कर तिर्ने कम्पनी नेपाल टेलिकम
काठमाडाैं । सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेकाे छ ।
राष्ट्रिय कर दिवस, २०८१ अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट करदातालाई सम्मान गरेकाे हाे ।
सबैभन्दा बढी कर तिर्ने संस्थाको सम्मान नेपाल टेलिकमले पाएकाे छ । विभागले वस्तु निर्याततर्फ डाबर नेपाल तथा कृषितर्फ बढी कर तिर्नेमा पतञ्जलि आयुर्वेदलाई सम्मान गरेको छ । बैंकतर्फ उत्कृष्ट करदाताकाे सम्मान नबिल बैंकले पाएकाे छ ।
शिक्षातर्फ लुम्बिनी मेडिकल कलेजले उत्कृष्ट करदाताकाे सम्मान पाएकाे छ । विभागले पर्यटनतर्फ तारागाउ रिजेन्सी र वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केटलाई सम्मान गरेको छ ।
विभागले ऊर्जातर्फ भोटेकोशी हाइड्रोपावर र रेमिटेन्सतर्फ सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई सम्मान गरेको छ । मूल्य अभिवृद्धिकर (भ्याट) बढी तिर्ने करदाताकाे सम्मान चिनियाँ लगानीको होग्सी सिमेन्टले पाएकाे छ ।
सोल्टी इन्टरप्राइजेज र वरुण वेभरेजले पनि उत्कृष्ट करदाताको सम्मान पाएका छन् । व्यक्तिगत आयकरमा जाउलाखेल ग्रुपका राजबहादुर शाह सम्मानित हुनुभएकाे छ ।
'कर प्रणालीको सार, नेपालको आधार' भन्ने नारासाथ विभिन्न कार्यक्रम गरी राष्ट्रिय कर दिवस मनाइँदैछ । ०५४ मंसिर १ मा नेपालमा मुल्य अभिवृद्धि कर लागू भएको थियो । सोही आधारमा नेपाल सरकारले मंसिर १ लाई कर दिवसको रुपमा मनाउँदै आएको छ । आन्तरिक राजस्व विभागले नेपालमा आन्तरिक रूपमा परिचालन हुने प्रमुख करहरू आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क लगायत कर प्रशासन सञ्चालन गर्दै आएको छ ।


प्रतिकृया दिनुहोस