नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
काठमाडाैं । चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
विश्व बैंकले बुधबार सार्वजनिक गरेको 'नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव' विषयक प्रतिवेदनले चालु आर्थिक वर्षमा नेपालकाे आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेकाे हाे ।
गत वर्षकाे तुलनामा यसवर्ष उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिदरमा सुधार आउने विश्व बैंककाे प्रक्षेपण छ । आर्थिक वर्ष २०८१-०८२ (सन् २०२५) मा नेपाल सरकारले आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य लिएकाे छ ।
विश्व बैंकले गत आर्थिक वर्ष (सन् २०२४) को ३.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । आगामी आर्थिक वर्ष (सन् २०२६) मा नेपालको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएकाे छ ।
नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएका कारण थोक तथा खुद्रा व्यापार, निर्माण क्षेत्र र उत्पादन क्षेत्र लाभान्वित हुने तथा निजी क्षेत्रको लगानी वृद्धि हुने विश्व बैंककाे अनुमान छ ।
सन् २०२४ मा पर्यटन आगमन ३० प्रतिशतले बढ्दा सेवा क्षेत्रको वृद्धि हुने र यातायात,आवास तथा खाद्य क्षेत्रमा वृद्धि हुने अनुमान छ । जलविद्युत् र कृषि क्षेत्रको उत्पादन बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । यसवर्ष जलविद्युत् उत्पादन ४ सय ५० मेगावाट थपिने र धान उत्पादन ४ दशमलव ३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
वित्तीय प्रणालीमा उच्च जोखिम सहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाई, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध लगायतले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनकाे पूर्णपाठ:


प्रतिकृया दिनुहोस