• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सरकारले वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने, थालियाे तयारी

सनराइज खबर संवाददाता

काठमाडौं । सरकारले आगामी वैशाख ९ र १० गते काठमाडाैंमा लगानी सम्मेलन गर्ने भएकाे छ ।

आगामी वैशाख ९ र १० गते काठमाडौंमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

लगानी सम्मेलनकाे तयारीका लागि अर्थमन्त्री महतकाे संयोकत्वमा गठन भएको निर्देशक समितिको आज बसेकाे बैठकमा उहाँले साे जानकारी दिनुभएकाे हाे ।

लगानी सम्मेलनका लागि तयारी थालिएको अर्थमन्त्री महतले बताउनुभयाे । सरकारले वैशाखमा लगानी सम्मेलनको मिति तोकको भन्दै उहाँले नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजानेगरी तयारी गर्नुपर्ने बताउनुभयो ।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायत काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने अर्थमन्त्री महतले जानकारी दिनुभयाे । उहाँले लगानी सम्मेलनका लागि 'सोकेस'मा लैजाने आयोजनाका विषयमा पनि तयारी गर्न निर्देशन दिनुभयो ।

कात्तिक २३ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले वैशाख ९ र १० गते तेस्राे लगानी सम्मेलन गर्ने निर्णय गरेकाे थियाे । जसअनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोकत्वमा गठन भएको निर्देशक समिति गठन भएकाे थियाे । लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति गठन गरिएको छ ।  

तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने बताइएको छ ।

पहिलो लगानी सम्मेलन सन् २०१७ मा भएको थियो । दाेस्राे लगानी सम्मेलन सन् २०१९ मा आयोजना गरिएको थियाे ।

प्रतिकृया दिनुहोस