वैदेशिक रोजगारीमा जानेकाे बीमा सहज बन्दै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारको म्यादी बीमा सहज बनाउन बीमा समितिलाई पत्र पठाएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारले बीमा झन्झटिलाे बीमा प्रक्रियाका कारण दुःख पाएको गुनासो बढेपछि मन्त्रालयमा याे विषयमा सोमबार छलफल भएको थियो । सो छलफलमा म्यादी बीमा सहज बनाउन सहमति भएको हाे । सोही आधारमा मन्त्रालयले बीमा समितिलाई पत्र पठाएको बताइएकाे छ।
मन्त्रालयले समितिलाई पठाएको पत्रमा वैदेशिक रोजगारी जान नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने कामदारले जुनसुकै बीमा कम्पनीबाट बीमा गर्न मिल्ने व्यवस्था मिलाउन आग्रह गरेकाे छ । यस्तै बीमाको अवधि घटाउन पनि आग्रह गरिएकाे बताइएकाे छ ।
हाल वैदेशिक रोजगारीमा जाने कामदारका लागि अनिवार्य गरिएको म्यादी बीमा तीन वर्षको छ । छोटो समयका लागि विदेश गएका कामदारले पनि तीन वर्षको नै बीमा गनुपर्ने बाध्यता छ । साेहीकारण मन्त्रालयले यसलाई संशोधन गर्नकाे लागि समिति पत्र पठाइएको हो ।
वैदेशिक रोजगारीका लागि जाने कामदारको करार अवधिमा ६ महिना बढी हुने गरी बीमा गर्ने व्यवस्था मिलाउन पत्र पठाइएकाे मन्त्रालयका शाखा अधिकृत गिरीप्रसाद आचार्यले जानकारी दिए ।


प्रतिकृया दिनुहोस