सडक दुर्घटना न्यूनीकरण : प्रधानमन्त्रीकाे निर्देशनपछि सराेकारवाला सक्रिय
काठमाडाैं । सडक दुर्घटना न्यूनीकरणका उपाय खाेज्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार निर्देशन दिएसँगै सरोकारवाला निकाय सक्रिय भएका छन् ।
बुधवार रिपोर्टस क्लबमा भएको कार्यक्रममा यातायात, सुरक्षा लगायत क्षेत्रका सरोकारवालाले सडक दुर्घटनाका कारण र यसलाई कम गर्नकाे लागि आफ्नाे सुझाव पेश गरेका हुन् ।
प्रधानमन्त्रीबाट दुर्घटना न्यूनीकरणकाे लागि पहल हुनु गर्वकाे विषय भएकाे राष्ट्रिय यातायात व्यवसायी महासंघका सचिव सरोज सिटौलाले बताए ।
दुर्घटना कम गर्न सम्बद्ध निकाय तत्पर नभएकाे भन्दै उनले प्रश्न गरे– ‘खाल्डाखुल्डी पुर्न, दुर्घटना कम गर्न र समिति बनाउनका लागि प्रधानमन्त्रीले नै निर्देशन दिनुपर्ने भए अरु निकायको के काम ?’
दुर्घटना कम गर्ने उपाय सुझाउँदै उनले विकासको नाममा डोजर चलाएर मात्र नहुने भन्दै पक्कि सडक निर्माण गर्नुपर्ने बताए । यस्तै सडक, रेलिङ बनाउनुपर्ने साथै सडक सुहाउँदाे सवारी आयात र सञ्चालन गर्नुपर्नेमा उनले जाेड दिए ।
कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले सडक दुर्घटना कम गर्न ट्राफिक सचेतना कार्यक्रम प्रभावकारी भएको बताए । उनले भने –‘सो कार्यक्रम मार्फत् महाशाखाले ४१ हजार चालकलाई कारबाही गरिसकेको छ ।’
ट्राफिकले दैनिक २ हजारलाई कारबाही गर्ने गरेकाे ढकालले जानकारी दिए ।
सो अभियानले सहरी क्षेत्रमा हुने दुर्घटनामा कमी भएको दाबी ढकालले गर्दै भने – ‘दुर्घटनाको पछिल्लो तथ्याङ्क विगतको तुलनमा निकै कम भएकाे छ, अझै कम गर्न हामी दिनरात खटेका छौ ।’
सडक विभागका डीजी केशव शर्माले सडक सुहाउँदो सवारीसाधन मात्र चलाउनु पर्ने बताए । उनले सडकको अवस्था र सवारी चेकजाँच गरेर चलाउँदा दुर्घटना कम हुने बताए ।
‘सडककै कारण मात्र दुर्घटना बढेको हैन, चालकले क्षमता भन्दा बढी यात्रु चढाउने, पुराना सवारी साधान चेकजाँच बिना चलाउँदा कारण दुर्घटना बढेको हो, यसमा सम्बन्धित निकायले छलफल गरेर अघि बढ्न आवश्यक छ’– शर्माले भने ।
भौगोलिक कारणले गर्दा तराईमा भन्दा पहाडमा दुर्घटना धेरै हुने बताउँदै जिम्मेवारी निकाय सचेत बन्नुपर्ने उनले सुझाव दिए ।


प्रतिकृया दिनुहोस