• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नवजागरण बचतले मनायो रजत जयन्ति, टेकानपुरका विद्यार्थीले पाए शैक्षिक सामाग्री 

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था आफ्नो रजत जयन्ती मनाएको छ ।

रजत जयन्तीको अवसरमा सो सहकारीले मन्थली नगरपालिका–२ टेकानपुरका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष श्याम थापाको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । 

कार्यक्रममा सो वडाका दुईवटा विद्यालयमा पढ्ने ७७ जना विद्यार्थीलाई विद्यालय ब्याग, कपि लगायतका सामाग्री प्रदान गरिएको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष झम्कबहादुर कार्कीलाई पनि सम्मानित गरिएको थियो ।   

२०५५ सालमा २५ जनाले २ हजार ५ सय शेयर पुँजीबाट सुरु गरेको सो सहकारी संस्थाले ४ करोड ७६ लाख ८३  हजार शेयर पुँजी पुर्‍याएको छ । अहिले संस्थाको सम्पत्ति ६६ करोड बढी पुगेको छ । 

हाल सो संस्थाको ५० करोड बढी बचत संकलन छ भने ४० करोड बढी ऋण लगानी गरेको छ । सहकारीको जगेडा कोषमा ६ करोड बढी रकम रहेको छ । सहकारीमा ९ हजार बढी शेयर सदस्य छन् । सहकारीले यस वर्ष १ करोड २५ लाख बढी नाफा कमाएको छ ।   कार्यक्रममा मन्थली नगरपालिका–१ का वडाध्यक्ष होमप्रसाद पौडेल, सहकारीका पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापक लगायत कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।  

प्रतिकृया दिनुहोस