त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलो बढी सुन बरामद, तीन जना पक्राउ
काठमाडौं । काठमाडाैंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट ठूलाे परिमाणमा सुन बरामद भएकाे छ ।
विमानस्थलकाे भन्सार कार्यालयबाट चेकजाँच पार गरिसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले बुधबार साँझ करिब एक क्विन्टल सुन बरामद गरेकाे हाे ।
विशेष सूचनाका आधारमा खटिएकाे विभागकाे टाेलीले विमानस्थलमा गरेको अपरेशनमा अवैध रुपमा ल्याइएकेा साे परिमाण बराबरकाे सुन बरामद गरेकाे हाे । विभागका महानिर्देशक नवराज ढुंगानाले बरामद गरिएकाे सुन ८० देखि १०० किलोको बीचमा रहेको जानकारी दिनुभयो ।
विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उहाँले बताउनुभयो । विभागका महानिर्देशक ढुंगानाले सुन हङकङबाट आएको खुलेको जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेकाे आशंकामा तीन जनालाई पक्राउ गरिएको छ । भन्सार एजेन्ट र ट्याक्सी चालकसहित ३ जनालाई पक्राउ गरिएकाे बताइएकाे छ । यसबारे थप अनुसन्धान भइरहेकाे विभागले जनाएकाे छ ।
यो नेपालमा अहिलेसम्म बरामद भएको सबैभन्दा ठूलो परिमाणको सुन हुनसक्ने अनुमान गरिएकाे छ ।
-रासस


प्रतिकृया दिनुहोस