अहिले ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउनसक्ने अवस्था नरहेको बताउनुभएकाे छ ।
आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले शनिबार काठमाडौंमा गरेकाे कार्यक्रममा अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव नहुने बताउनुभयाे । देशको वर्तमान अवस्थामा बजेट ल्याउनु निकै कठिन काम भएको उहाँकाे भनाइ छ ।
अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा राजस्वको न्यूनता देखिएको भन्दै अर्थमन्त्री महतले विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सीमितता रहेका बताउनुभयाे । देशकाे अर्थतन्त्र सुधारका लागि सरकार लागिपरेकाे भन्दै उहाँले अर्थतन्त्र सुधारका लागि जादु गरे जस्तो आजको भोलि नतिजा नआउने बताउनुभयाे ।
अर्थतन्त्रलाई चलायमान बनाउन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले कुनै कसरत बाँकी नराख्ने प्रतिबद्धता उहाँले जनाउनुभयाे ।


प्रतिकृया दिनुहोस