• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सरकारले अहिलेलाई बचाए पनि संकटमै छन् टुटल र पठाओ

मिना अ‌ाचार्य

काठमाडौं । फेरि पनि केपी शर्मा ओली नेतृत्वको सरकारले ‘सेयर राइडिङ सर्भिस’ लाई जोगाएको छ । अब ‘सेयर राइडिङ सर्भिस’ लाई सरकारले हस्तक्षेप नगर्ने भएको छ । तर, आगामी दिनमा पनि भने सहज छैन टुटल र पठाओलाई । मुख्यत यिनै दुई कम्पनी हुन् नेपालमा ‘सेयर राइडिङ सर्भिस’ चलाउने ।

गत वर्ष पनि टुटल र पठाओलाई बन्द गर्ने प्रयास भएको थियो । केही समय बन्द पनि भएको थियो तर प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर खुलाए । तैपनि ‘सेयर राइडिङ सर्भिस’ को समस्या समाधान भएन । 

४ मंसिरमा यातायात व्यवस्था विभागले रातो प्लेटले यात्रु बोक्न पाउँदैन, बोकेमा कारवाही हुन्छ भनी सूचना जारी गर्‍यो । सो सूचना टुटल र पठाओलाई लक्षित थियो । 

पछिल्लो विवाद सो सूचनापछि सिर्जना भएको हो । 

‘सेयर राइडिङ सर्भिस’ विवादमा पर्नुको मुख्य दुई कारण देखिन्छ । पहिलो हो– रातो प्लेटले यात्रु बोक्न नपाउने कानुन । दोस्रो हो– कालो प्लेटवाला व्यवसायीहरुका शक्तिशाली संगठन । कालो प्लेटवाला व्यवसायीहरुको संगठनले सरकारलाई समेत अप्ठेरो पार्न सक्छ भन्ने विगतमा पटकपटक देखिएको हो । 

कालो प्लेटवाला व्यवसायीमध्ये मुख्य गरी ट्याक्सी व्यवसायी तथा चालक टुटल र पठाओ बन्द गर्नुपर्ने पक्षमा छन् । अहिले ती व्यवसायी र चालकहरु टुटल र पठाओ विरुद्ध खुलेआम उत्रिसकेका छन् । यी दुई सेवा बन्द नगरे आन्दोलन गर्ने धम्की उनीहरुले दिएका छन् । 

बुधबार यातायात मन्त्री वसन्त नेम्वाङले टुटल र पठाओलाई निर्वाध चल्न दिनु भनी मातहत निकायलाई निर्देशन दिएका छन् । त्यसपछि कालो प्लेटवाला व्यवसायीहरुको औपचारिक प्रतिक्रिया आएको छैन । ट्याक्सी व्यवसायीका एक नेताले सनराइज खबरलाई बताए– ‘अब सरकारलाई हामी देखाइदिन्छौं ।’

के हो ‘सेयर राइडिङ सर्भिस’ ?

विश्वमा ‘सेयर राइडिङ सर्भिस’को अभ्यास नयाँ होइन । विश्वका ७० भन्दा धेरै देशमा यस्तो सेवा चलिरहेछ । जहाँजहाँ ‘सेयर राइडिङ सर्भिस’ चलिरहेको छ त्यहाँका सरकारले नै यस्ता सेवालाई प्रोत्साहित गरिरहेका छन् । 

सन् २०१२ बाट ‘सेयर राइडिङ सर्भिस’को अवधारणा आएको हो । सो वर्ष ‘लिफ्ट’ नामक कम्पनीले अमेरिका र युरोपमा सेवा सुरु गर्‍यो । लगत्तै उबर कम्पनी आयो । उबरले छोटो समयमै लिफ्टलाई उछिनेर विश्वव्यापी बन्यो । भारतमा समेत उबरले सेवा चलाइरहेछ । 

छिमेकी थाइल्याण्ड, भारत, बंगलादेश लगायत अन्य देशमा ‘सेयर राइडिङ सर्भिस’ लोकप्रिय भइसकेको छ । नेपालमा पनि लोकप्रिय पठाओ बंगलादेशी कम्पनी नै हो । 

तर, नेपालमा भने ‘सेयर राइडिङ सर्भिस’मा अनेक बाधा दिन खोजिएको छ । कहिले करको नाममा त कहिले नम्बर प्लेटको नाममा यस्ता सेवा बन्द गर्ने खेल हुँदै आएको हो । 

संकटको साथी

नेपालमा ठूलो संकटका बेला ‘सेयर राइडिङ सर्भिस’ सुरु भएको हो । भारतले नाकावन्दी लगाएको बेला यस्तो सेवा थालिएको थियो । त्यसबेला सवारी साधन हुने हरेक मानिसले कुनै गन्तब्यमा जानुपर्दा लिफ्ट दिन्थे । म यो ठाउँबाट फलाना ठाउँ जाँदैछु, लिफ्ट दिन सक्छु भन्दै धेरै मानिसले सामाजिक सञ्जालमा सूचना हाल्थे । सम्पर्कमा आउनेलाई लिफ्ट दिन्थे । 

इन्धनको वचत, सवारी साधनको उच्चतम् प्रयोग, समयको वचत र सेवा सबैकुरा समेट्छ ‘सेयर राइडिङ सर्भिस’ले । त्यसैले यो लोकप्रिय हुँदै गयो । पछि पठाओ र टुटलले सेवा नै सुरु गरे । 

राष्ट्रिय संकटका बेलाको साथी हो ‘सेयर राइडिङ सर्भिस’ । तर, अहिले सरकारले सेवामा अवरोध नगर्ने भने पनि टुटल र पठाओ निर्वाध चल्ने अवस्था आइसकेको छैन । किनभने कानुनले यस्तो सेवालाई निषेध गरेको छ भने कालो प्लेट व्यवसायीले पनि निषेध गर्न दवाब दिइरहेछन् । 

अन्य देशमा जस्तै नेपालमा पनि ‘सेयर राइडिङ सर्भिस’लाई प्रोत्साहित गर्न सरकारले नीतिगत परिवर्तन नगरी नहुने देखिएको छ । 

प्रतिकृया दिनुहोस