• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

विकसित देशको कसिलो मौद्रिक नीतिले नेपालको अर्थतन्त्र सुधारको गति सुस्त भयो : अर्थमन्त्री

खबर स‌ंवाददाता

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले विकसित देशको कसिलो मौद्रिक नीतिले नेपाली अर्थतन्त्रको गति सुस्त भएकाे बताउनुभएकाे छ ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावरसँग बुधबार भएकाे भेटवार्तामा अर्थमन्त्री पाैड्यालले विकसित देशहरुले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्रको सुधारको गतिलाई सुस्त बनाएको बताउनुभयाे ।

यसमाथि विश्वको साझा समस्याको रुपमा रहेको जलवायु परिवर्तनले अरु बोझ थपेको उहाँकाे भनाइ थियाे । भेटमा अर्थमन्त्री पौडेलले यूएसएआईडीले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो । यूएसएआईडी प्रमुख सामन्थाले नेपालको अर्थतन्त्रको विकासमा आफ्नो सहयोग जारी रहने बताउनुभएको थियो ।

गत वर्ष दुई देशबीचको कुटनीतिक सम्बन्धको ७५‌औं वर्षगाँठ मनाइएको स्मरण गर्दै अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता जनाउनुभयाे ।नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्रममा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा हाम्रा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको युएसएआइडीमार्फत विस्तार भएको जी टु जी सहयोग प्रमाण भएको पाैडेलले बताउनुभयाे ।

नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधैं सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको उहाँले प्रशंसा गर्नुभयाे । अर्थमन्त्री पाैडेलले नेपालले सन् २०२२ को मे मा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कुल अमेरिकी डलर ६५९ मिलियन बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गर्ने बताउनुभयो ।

यूएसएआईडी प्रमुख पावरले नेपाल मात्र जी टु जी सहायता प्राप्त सहायता परिचालन गर्ने देश भएको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले ०७२ सालमा नयाँ संविधान जारी भएसँगै जनताको मौलिक हकहरुको प्रत्याभूति गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना लिएर विकासको पथमा अघि बढिरहेको बताउनुभयो । उहाँले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको जीवन पद्धतिसँग आवद्ध गर्न सफल भएको बताउनुभयाे । अर्थमन्त्री पाैडेलले भर्खरै तीन तहका निर्वाचनहरु सफलतापूर्वक सम्पन्न गरेको पनि जानकारी गराउनुभयो।

सो अवसरमा सहायताका अतिरिक्त वैदेशिक निजी क्षेत्रको लगानी उपयोग गरी नेपाल जलस्राेत विकासका क्षेत्रमा दक्षिण एसियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना रहेको पाैडेलले बताउनुभयाे ।

प्रतिकृया दिनुहोस