राज्यले सहकारीलाई पेलेको छ, निजी क्षेत्रलाई पुलपुल्याएको छ : कमल चौलागाईं
झापा । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सहकारी विभाग प्रमुख कमलप्रसाद चौलागाईंले तरलताको संकटलाई समेत पार गरेर आएका नेपालका सहकारी कसरी यहाँसम्म आइपुगे भन्ने विषय अध्ययनको विषय बनेका बताउनुभएको छ ।
झापामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै चौलागाईंले नेपालमा सहकारीको मोडललाई नमुना बनाउन सकिने बताउनुभयो । नेपालको संविधानले समेत सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेको भए पनि व्यवहारमा भने सहकारी क्षेत्र अहिले पनि उपेक्षित भएको चौलागाईंले बताउनुभयो । ‘सहकारीलाई संविधानले दिएको हैसियतमा उभ्याउन संघर्ष गरिरहनुपरेको छ’, उहाँले भन्नुभयो ।
निजी बैँक र वित्तीय संस्थाको पेलाईमा नेपालका सहकारी परेका उहाँले बताउनुभयो । ‘राज्यले सहकारीलाई पेलेको छ, निजी क्षेत्रलाई पुलपुल्याएको छ, निजी क्षेत्रले विद्यालय खोल्न हुने, अस्पताल चलाउन हुने, अनि सहकारीले चाहिँ किन केही गर्न नहुने ?’ चौलागाईंले प्रश्न गर्नुभयो ।
नेपालमा तरलताको कारण नै निजी क्षेत्र भएको चौलागाईंले आरोप लगाउनुभयो । ‘निजी क्षेत्रले न उद्यमशीलता दिन सकेको छ, न रोजगारी दिन सकेको छ, न विकास दिन सकेको छ, निजी क्षेत्रले देशलाई डामाडोल बनाएको छ, तै पनि राज्यले पुलपुल्याएको पुलपुल्याएकै छ’, उहाँले भन्नुभयो ।
सहकारी जनताको संस्था भएको उहाँले प्रष्ट पार्नुभयो । तर सहकारीलाई राज्यले पखेटा बाँध्ने काम गरेको उहाँले बताउनुभयो ।
नेपालको राजनीतिले पनि सहकारीको संरक्षण गर्न नसकेको उहाँले बताउनुभयो । सहकारी क्षेत्र पछाडि परेको महसुस गरेर नै नेकपा एमालेले सहकारी विभाग नै बनाएर यो क्षेत्रलाई संरक्षण गरेर लैजानु पर्छ भनेर काम गरेको उहाँले प्रष्ट्याउनुभयो ।
सहकारीको विकासमा संरचनागत रूपमा नै समस्या रहेकोले यसको समाधान सहजै हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । यसको समस्या समाधानको लागि नागरिक स्तरबाटै आन्दोलनको झण्डा उठ्न जरुरी रहेको चौलागाईंको भनाई छ । सहकारी बालबालिकाको अभिभावक, युवाको साथी र ज्येष्ठ नागरिकको छोरा छोरी जस्तै भएकोले सबै नागरिकसँग यो जोडिने उहाँले बताउनुभयो ।


प्रतिकृया दिनुहोस