• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सहकारीले राज्यको परिपूरकको रूपमा काम गरिरहेका छन् : मीनराज कँडेल

सनराइज खबर संवाददाता

झापा । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले विश्व अर्थतन्त्र नै प्रभावित भएको वर्तमान अवस्थामा सहकारी क्षेत्र प्रभावित हुनु स्वाभाविक भएको बताउनुभएको छ । 

झापाको बिर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको विस्तारित भेलालाई सोमबार सम्बोधन गर्दै कँडेलले विश्व अर्थतन्त्र संकटमा पर्दा पनि सहकारीको विधि विधान र नियम अनुसार चलेका सहकारी संस्थाहरू जोगिन सकेका बताउनुभयो । विधिको पूर्ण पालना नगरेका अधिकांश सहकारी अहिले संकटमा रहेका उहाँले प्रष्ट पार्नुभयो । 

नेपालमा केही सहकारी अहिले सहकारीको मूल्य मान्यता अनुसार नचलेका उहाँले बताउनुभयो । तिनै सहकारीले सहकारी क्षेत्रलाई बदनाम गराएको उहाँको भनाइ छ । यसलाई नियन्त्रण गर्न राज्यले नियमनको कामलाई प्रभाकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

केही सकारी संस्था भने आर्थिक मन्दीका कारण तरलता नहुँदा संकटमा परेका उहाँले बताउनुभयो । यस्ता सहकारीलाई बचाउन सरकारले समेत ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 

सहकारी क्षेत्र पनि राज्यको अभिन्न अङ्ग हो भन्ने कुरा सरकारले बिर्सन नहुने उहाँले बताउनुभयो । ‘सहकारीले राज्यको परिपूरकको रूपमा काम गरिरहेका छन्’, उहाँले भन्नुभयो । 

अझै पनि सहकारीको विकास हुने गरी राज्यले कानुन नबनाएको उहाँले गुनासो गर्नुभयो । सहकारीलाई जोगाउन सहकारी मैत्री कानुन आवश्यक रहको उहाँले प्रष्ट पार्नुभयो । सहकारी मैत्री कानुन बनाउन सहकारी आन्दोलन जरुरी रहेको कँडेलले बताउनुभयो । 

 

प्रतिकृया दिनुहोस