• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रेमिट्यान्समा नीतिगत सुधार गर्न सरकार तयार छ : उपप्रधान तथा अर्थमन्त्री पौडेल

सनराइज खबर संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताउनु भएको छ ।

प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राति गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने अनुकुल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताउनु भएको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेले भन्नभयो - 'रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्राउन सकेका छैनौं । लिगल च्यानलबाट देशभित्र भित्राउनका लागि लिनु पर्ने नीति, गर्नु पर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरु अघि सार्न सरकार तयार छ ।'

रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ-नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिने भन्दै उहाँले  त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्यालाई परिमार्जन र सुधार गर्दै जाने बताउनुभयो ।

गैरआवासीय नेपालीले उठाएको नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भन्नुभयो - 'गैरआवासीय नेपालीहरुको आर्थिक तथा सामाजिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौं, त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौं, त्यसबाट सहज ढंगले नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकुल परिस्थिति सिर्जना हुनेछ ।'

वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐनले गैरआवासीय नेपालीहरुलाई विदेशी नागरिक सरह लिएको विषयप्रति गैरआवासीय नेपालीहरुले ध्यानाकर्षण गराएको जानकारी दिँदै उहाँले त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गैरआवासीय नेपालीहरुले नेपालमा आउँदा भिसा लिनु पर्ने विषयमा पनि ध्यान गएको भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले गैरआवासीय उहाँले नेपालीहरुको नागिरकता सम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्रीले भन्नुभयाे - 'नेपालको आर्थिक विकासमा प्रवासमा रहनु भएका प्रवासी नेपाली गैरआवासीय नेपाली अन्यन्तै ठूलो योगदान छ, आउने दिनमा अझ प्रभावशाली हुँदैछ भन्ने अपेक्षा गर्न चाहन्छु, रेमिट्यान्सका कोणबाट मात्र होइन, वैदेशिक लगानीका निम्ति पनि नेपालको सद्भावना दूतका रुपमा प्रत्येक प्रवासी र गैरआवासीय नेपालीले भूमिका खेलिदिनुस भन्ने अपेक्षा गर्न चाहन्छु,नेपाल लगानीका निम्ति सुरक्षित र प्रतिफल दिने ठाउँ हाे, त्यो सन्देश संसारभरका लगानीकर्ताका बीचमा पुर्‍यादिनुहोस् भन्ने आग्रह छ ।'

नेपालमा राजनीतिक स्थायित्वका बारेमा गैरआवासीय नेपालीले चिन्ता गर्ने गरेको सन्दर्भमा स्पष्ट पार्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भन्नुभयो - 'कुनै पार्टीको बहुमत भएन भने सहकर्मीहरु खोजेर राजनीतिक स्थायित्व गर्नु पर्ने र त्यसलाई अगाडि बढाउनु पर्ने विशिष्ट अभिभारा नेपाली राजनीतिज्ञहरु र पार्टीहरुका सामुमा छ किनभने स्थायित्व विकास, समृद्धि र समाजवादको पूर्व शर्त बनेको छ ।'

कार्यक्रमका सहभागीले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, उर्जा, पूर्वाधार, मानवीय संशाधन, औद्योगिकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस