अर्थतन्त्र उकालाे तर सेयर बजार अाेरालाे
काठमाडौं । अर्थतन्त्रकाे लगभग सबै क्षेत्रमा सुधार देखिए पनि अाेरालाे लागेकाे एउटा क्षेत्र छ । त्याे हाे- पूँजी बजार । शेयर बजार पनि भनिने याे क्षेत्र केपी अाेली नेतृत्वकाे सरकार अाए यता उँभाे लाग्न सकेकाे छैन ।
चालू आर्थिक वर्षको साउन, भदौ र असोजमा अघिल्लो वर्षको तुलनामा नेप्से सुचकांक १ सय ३ दशमलव ८ अंकले घटेर १ हजार १ सय ३७ दशमलव ८ विन्दुमा पुगेको छ । अघिल्लो वर्षको साउन, भदौ र असोजसम्ममा नेप्से सुचकांक १ हजार २ सय ४१ दशमलव ६ रहेको थियो ।
लगानीकर्ताको मनोविज्ञान सकारात्मक नहुनु तथा अर्थमन्त्रीका पटक पटकको विवादास्पद अभिव्यक्तिले सेयर बजारले गति लिन नसकेको लगानीकर्ताहरुकाे दावी छ । पूँजीवजार विकास अभियानकर्ता तिलक कोइराला सनराइज खबरसंग भन्छन्– ‘अर्थमन्त्रीले पूँजीबजारलाई सकारात्मक रुपमा नलिँदा सेयर बजार घट्दो क्रममा रहेको हो ।’
‘अर्थशास्त्रका विज्ञ रहेका अर्थमन्त्री युवाराज खतिवडाले बारम्बार विवदास्पद अभिव्यक्ति दिनाले पूँजी बजारले गति लिन नसकेको हाे, पूँजी बजारलाई माथि उठाउनुपर्छ भन्ने भावना र भिजन अर्थमन्त्रीमा देखिएन’–उनले भने ।
विकसित तथा अाैद्याेगिक देशहरुमा पूँजी बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । तर, नेपाल जस्ता विकासशील देशमा पूँजीबजारलाई समग्र अर्थतन्त्रकाे ऐना मान्न सकिँदैन । तथापि अर्थतन्त्रको ठूलाे तस्विर भने पूँजी बजारले प्रतिविम्बित गर्छ ।
किन उकालाे लागेन त पूँजी बजार ? यसमा विज्ञहरुकाे फरकफरक तर्क रहेकाे देखिन्छ । पूँजी बजार माथि जान नसक्नुको एउटा कारण बैंकको व्याजदर नघट्नु र तरलता अभाव हुनु हाे भन्नेमा चाहिँ धेरैजसाे लगानीकर्ता सहमत देखिन्छन् ।
धितोपत्र बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा २ दशमलव ४ प्रतिशतले ह्रास भई असोज मसान्तमा १ हजार ४ सय ४५ अर्ब ५६ करोड कायम भएको छ । जुन ०७६ असार मसान्तमा बजार पूँजीकरण १ हजार ५ सय ६७ अर्ब ५० करोड रहेको थियो ।
राष्ट्र बैंकले तोकेको चुक्तापूँजीको सीमा पुराएका बैंकहरुले नगद लाभांशमा जोड दिँदा पनि पूँजी बजार प्रभावित भइरहेको छ ।
नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा चालू आर्थिक वर्षको असोज मसान्तसम्म २ सय १७ कम्पनी सूचीकृत छन् । असार मसान्तसम्म २ सय १५ थियो । वर्षौदेखि निरन्तर घटिरहेको बजारमा कम्पनीहरुको आकर्षण पनि उल्लेख्य रुपमा बढ्न सकेको छैन । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा सूचीकृत ४ अर्ब ४० करोड शेयर संख्याको चुक्ता मूल्य ४ खर्ब ३१ अर्ब ८३ करोड रहेको छ ।
पूँजी बजारमा रियल स्टेट सेक्टर, उतपादनमूलक क्षेत्र, औद्योगिक क्षेत्र र जलविद्युत लगायतका क्षेत्रहरु उल्लेख्य रुपमा आएका छैनन । यी क्षेत्र आउन नसक्दा पनि बजार प्रभावित भइरहेको शेयर विश्लेषक विष्णु प्रसाद बस्यालले सनराइज खबरलाई बताए । उनले भने– ‘बैंकिङ तथा वित्त समूह प्रभावित हुने वित्तिकै समग्र पूँजी बजार नै नकारात्मक हुने गरेको छ ।’
बजारलाई एकरुपतामा लैजान तथा बजारको स्थायीत्व कायम राख्न सरकार पूँजी बजारप्रति सकारात्मक हुनुपर्ने लगानीकर्ताहरुको माग छ । पूँजी बजार सीमित क्षेत्रमा रहेको छ । यसको दायरा बढाउन पनि जरुरी छ । सेयर बजार सकारात्मक गति दिन नीति निर्माणमा पनि ध्यान दिनुपर्ने लगानीकर्ता बताउँछन् ।


प्रतिकृया दिनुहोस