सरकारको नीतिले सहकारी टाट पल्टँदै : कमल चौलागाईं
काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं सहकारी विभाग प्रमुख कमलप्रसाद चौलागाईंले नेपालका सहकारी गम्भीर संकटमा परेको बताउनुभएको छ ।
रामेछापको मन्थलीमा आयोजित राजनीतिकर्मी तथा सहकारीकर्मीसँगको छलफल कार्यक्रममा बोल्दै नेता चौलागाईंले सरकारको निजी बैँकलाई पोस्ने नीति लिएको कारण सहकारी संकटमा परेका बताउनुभयो । सहकारीलाई बचत र ऋणको ब्याजको सीमा तोक्ने सरकारले बैँकहरुलाई भने खुल्ला छाडिदिएको उहाँले सुनाउनुभयो । ‘बैँकहरुले १६ प्रतिशत सम्म बचतमा ब्याज नै दिए, सहकारीले त्यसो गर्न पाउँदैन त्यसैले मानिसहरूले सहकारीबाट पैसा निकाल्दै बैँकमा जम्मा गर्दै गर्न लागे, यसले कतिपय सहकारी टाट पल्टिँदै छन्’, चौलागाईंले भन्नुभयो ।
राज्यले सरकार, निजी क्षेत्र र सहकारीको तीन खम्बे नीति भनेको भए पनि सरकारको व्यवहार सहकारीलाई मार्ने खालको रहेको उहाँले बताउनुभयो । सरकारमाथि निजी क्षेत्रको हाबीको अतिक्रमणमा सहकारी परेको उहाँले टिप्पणी गर्नुभयो ।
समाजवाद भन्ने कांग्रेस र समाजवादकै विचार बोकेका कम्युनिष्ट संविधान सभामा भएकोले नेपाललाई समाजवाद उन्मुख भनि संविधानमा लेखिएको भए पनि देशको आर्थिक गतिविधि भने समाजवाद विपरीतको रहेको उहाँले टिप्पणी गर्नुभयो । नेपालको अर्थतन्त्र दलाल पुँजीवादीहरूलाई पोस्ने खालको रहेको चौलागाईंले प्रष्ट पार्नुभयो ।
सरकारले बैँकमा राखेको बचत र ऋणको सुरक्षा गरिदिएको भए पनि सहकारीमा त्यस्तो कुनै सुरक्षा व्यवस्था नभएको उहाँले बताउनुभयो । यसले गर्दा सहकारीमा राखिएको सर्वसाधारणको रकम समेत असुरक्षित भएको तर्फ सरकारले ध्यान दिन नसकेको चौलागाईंले औँल्याउनुभयो ।
यसले केही सहकारीले बदमासी गरेका र त्यसैलाई आधार बनाएर सहकारीलाई बदनाम गर्ने काम भएको उहाँले गुनासो गर्नुभयो । ‘यो देशको अर्थतन्त्रमा दलाल पुँजीपतिहरूको नियन्त्रण छ, यसले गर्दा सहकारी क्षेत्र उपेक्षित छ, भारतीयहरूले चलाएको बैँक छ, त्यसैले जनतासँग जोडिएको सहकारीलाई कोल्याप्स पार्ने षडयन्त्र भइरहेको छ’, चौलागाईंले भन्नुभयो ।
आगामी सरकार एमालेको बन्यो भने समाजवादको आधार तयार गर्नको लागि सहकारीको संरक्षण र व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । ‘हामी हाम्रो सरकार आयो भने सहकारीको सुरक्षा दिन्छौँ’, चौलागाईंले भन्नुभयो ।
सहकारीलाई व्यवस्थित गर्नको लागि अब संघर्षको जरुरी रहेको चौलागाईंले बताउनुभयो । ‘देशको अर्थतन्त्र सहकारी सिद्धियो भने सिद्धियो, निजी क्षेत्रले त देश डुबाएको छ, नेपालको निजी क्षेत्रको ध्यान आयातमा मात्र छ, निर्यातमा छैन’, उहाँले भन्नुभयो ।
नेपालका सहकारी पनि केवल बचत र ऋण लगानीमा मात्र सीमित रहेका भन्दै उहाँले आलोचना गर्नुभयो । नेपालका सहकारी उत्पादनसँग जोडिन नसकेको बताउँदै चौलागाईंले सहकारी पनि केवल नाफा कमाउनमा नै केन्द्रित रहेका बताउनुभयो ।
सहकारीलाई उत्पादनसँग नजोडेसम्म देशलाई समाजवादको बाटोमा पुर्याउन नसकिने उहाँले प्रष्ट पार्नुभयो । सहकारीलाई उत्पादनसँग जोडेपछि गाउँमा उत्पादन सुरु हुने र त्यही उत्पादनले देशलाई समाजवादको बाटोमा लैजाने उहाँले प्रष्ट पार्नुभयो ।


प्रतिकृया दिनुहोस