• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

युवा स्वरोजगार काेषद्वारा १३ वर्षमा ११ अर्ब ९ करोड लगानी,८३ हजार बढीलाई काम

खबर स‌ंवाददाता

काठमाडाैं । युवा तथा व्यवसायी स्वराेजगार काेषले १३ वर्षमा ८३ हजार ४ सय ९ जना युवालाई राेजगारी दिएकाे छ ।

कोषको १३ औं वार्षिकोत्सव कार्यक्रमको अवरसमा बिहीबार अनामनगरमा आयाेजित पत्रकार सम्मलेनमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले साे जानकारी दिनुभएकाे हाे । कोषले स्थापना कालदेखि ०७८ को पुससम्ममा स्वराेजगार कार्यक्रमका लागि ११ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो ।

कार्यकारी निर्देशक अधिकारीका अनुसार स्वरोजगार कोषले गाउँ-गाउँमा रोजगार सिर्जना गर्न विभिन्न कार्यक्रम विभाजन गरी रकम लगानी गरेको थियो । तीमध्ये कोषले सबै भन्दा धेरै रकम विपन्न वर्गलाई प्रदान गरिने कर्जामा खर्च गरेको छ । साे कर्जामा ३ अर्ब ८२ करोड २ लाख ८३ हजार २६६ रुपैयाँ लगानी भएको छ । 

१३ वर्षकाे अवधिमा ४२ हजार ५ सय ६३ जना व्यवसायीलाई कोषले विभिन्न तालिम प्रदान गरेकाे अधिकारीले बताउनुभयाे । कोषकै रकमबाट विभिन्न रोजगारमूलक संस्थाका ५ हजार ८० जनालाई तालिम तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । 

कार्यकारी निर्देशक अधिकारीले आम्दानीतर्फको सञ्चिती रकम ७९ करोड ४७ लाख ३५ हजार रुपैयाँ रहेकाे बताउनुभयाे । उहाँका अनुसार कोषले १ हजार ९ सय ६८ वटा सहकारीमा लगानी गरेको छ । २६ वटा बैंक तथा वित्तीय संस्थामार्फत पनि युवा स्वरोजगार कार्यक्रममा लगानी गरेको छ । 

उहाँका अनुसार १३ हजार ७ सय ६५ जना व्यवसायीलाई १५ करोड ३३ लाख ५ हजार रुपैयाँ ब्याज अनुदान वितरण गरिएको छ । ३८ हजार १ सय ३९ जना व्यवसायीलाई १ करोड ९० लाख ६९ हजार कर्जा व्यवस्थापन शुल्क वितरण गरिएको छ । कोषले ६१ हजार १ सय ३२ जना व्यवसायीको स्वरोजगार बीमा पनि गरेको छ । तीमध्ये १ हजार ६१ जनालाई ६ करोड २४ लाख ४८ हजार बीमा क्षतिपूर्ति वितरण गरिएको छ । 

उहाँका अनुसार ०६५ सालमा स्थापना भएकाे काेषले नेपाल सरकार र अन्तर्राष्ट्रिय संघ-संस्थाबाट रकम प्राप्त गरी परिचालन गर्दै आएकाे छ । १८ वर्षदेखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीलाई बिनाधिताे सुलभ कर्जा उपलब्ध गराउँदै आएकाे छ ।

युवाहरूलाई स्वदेशमै टिकाउने र उनीहरूलाई भरपर्दो रोजगार दिने गरी हामीले थप कार्यक्रम बनाउने तयारी भइरहेकाे अधिकारीले बताउनुभयाे । 'थोरै लगानीबाट पनि धेरै प्रतिफल हासिल गर्न सकिने व्यवसाय तथा रोजगारीका क्षेत्रबारे अध्ययन पनि भइरहेको छ'- अधिकारीकाे भनाइ छ ।

युवाहरुलाई स्वराेजगार बनाउने लगायत उद्देश्यसाथ काेषले नियमित स्वराेजगार कार्यक्रम, सहकार्यमा आधारित साझेदारी कार्यक्रम, काेशी इकाेनाेमिक कार्यक्रम,भेरी कर्णाली इकाेनाेमिक करिडाेर कार्यक्रम, काठमाडाैं उपत्यका स्वराेजगार कार्यक्रम र तराई मधेस स्वराेजगार कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।

कार्यक्रममा काेषका उपाध्यक्ष डा. देवराज रोका (कल्याण) ले राेजगारी र स्वराेजगारीकाे परिभाषा बुझ्न नसकिएकाे अवस्था अहिले रहेकाे बताउनुभयाे । पाखुरामा विश्वास गर्नेहरुलाई देशमा श्रम पाेख्न देशमा प्रयाप्त ठाउँ र साधन-स्राेत रहेका राेकाले बताउनुभयाे ।

लाेकसेवा र शिक्षक सेवा पास गरेर खाएकाे जागिरलाई मात्रै जागिर भन्ने प्रवृत्ति समाजमा रहेकाे उपाध्यक्ष राेक्काले बताउनुभयाे । आफ्ना लागि आफै मालिक बनेर स्वराेजगार बनेर अरुलाई राेजगार दिने कुरालाई महत्व नदिइएकाे र त्यसमा नीतिगत काम हुन नसकेकाे बताउँदै उहाँले भन्नुभयाे - 'अब राेजगारी र स्वराेजगारीकाे परिभाषा बदल्लिनुपर्छ, राेजगारी भन्दा स्वराेजगारमा बढी फाेकस हाैँ, जाे वेराेजगार छाैँ भन्ने र देशभित्र काम गर्न पाइएन भनेर विदेश हिँड्नुभएकाे छ,उहाँहरुलाई कम्तिमा स्वदेशमै काम गराैँ भन्ने अनुराेध गर्न चाहान्छु ।'

सरकारका विभिन्न निकायले प्रदान गर्दै आएको यस्ता कोषलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषको छातामुनी राखेर कर्जा उपलब्ध गराउन आवश्यक रहेकाे उहाँले बताउनुभयाे ।

प्रतिकृया दिनुहोस