बदमासीको कारण जनविश्वास गुमाउँदै सहकारी
रामेछाप । सरकारले सहकारीलाई समेत समेटेर विकासका तीन खम्बे नीति ल्याइरहेको बेला सहकारी प्रतिको जनविश्वास भने घट्दै गएको छ ।
सहकारीले सर्वसाधारणबाट बचत संकलन गर्ने तर व्यवस्थित तरिकाले ऋण लगानी नगर्दा सर्वसाधारणको बचत रकम डुब्न थालेको छ । गाउँ गाउँमा सञ्चालनमा रहेका सहकारी संस्थाले लगानी गरेको ऋण नउठाई बचतकर्ताको ऋण डुबाएर संस्था नै छाडेर भाग्ने गरेका छन् । जसले सर्वसाधारणको रकम डुब्दै गएको छ ।
सरकार, सहकारी र निजी क्षेत्रलाई विकासका साझेदार बनाउने नीति सरकारले लिए पनि सहकारी क्षेत्र नागरिकको बिचमा बदनाम हुँदै जान लागेको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिका उपप्रमुख उर्मिला कार्की बस्नेत सहकारीले गरेको बदमासीको कारण जनवश्विास गुम्दै गएको बताउनुहुन्छ । उमाकुण्ड गाउँपालिका–७ भूजीमा आइतबार एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सहकारीलाई हेर्ने सर्वसाधारणको दृष्टिकोण फेरिएको बताउनुभयो । ‘सहकारीले पैसा दुरुपयोग गरिदिन्छन् कि, पैसा डुब्छ कि भन्ने चिन्ता नागरिकलाई छ’, उहाँले भन्नुभयो ।
उमाकुण्ड गाउँपालिका–७ भूजीका वडाध्यक्ष रुद्रमणि नेवार पनि सहकारीको बदमासीको कारण नागरिकहरू त्रसित भएको बताउनु हुन्छ । त्यस्तो त्रासदी रोक्न कडा कानुन, अनुगमन र कारबाहीको प्रक्रिया अवलम्बन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
भूजीलाई कार्यक्षेत्र बनाएर आएको दोलखाको जिरीमा रहेको सो सहकारीलाई यस विषयमा गम्भीर हुन नेवारले आग्रह गर्नुभयो । भोलि नागरिक अप्ठेरोमा पर्दा आउने ठाउँ जनप्रतिनिधि निकाय नै भएकोले यस बारेमा आफूले पहिला नै सचेत गराएको उहाँले बताउनुभयो ।


प्रतिकृया दिनुहोस