अब कोरोना डिप्लोमेसी : इटालीमा कोरोना नियन्त्रण गर्न अघि सर्याे चीन
काठमाडौं । नेपालमा कोरोना फैलियो भने चीनले सहयोग गर्छ ? अवश्य गर्छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको भनाई छ– अवश्य सहयोग गर्छ ।
चीनका उच्च अधिकारीहरुले नेपालमा कोरोना फैलिएको अवस्थामा सहयोग गर्ने भनिसकेका छन् । विगतमा भूकम्पका बेला पनि चीनले नेपाललाई सहयोग गरेको थियो । तर, त्यसबेला सहयोग गर्न अन्य देश पनि अगाडि सरेका थिए । नेपालले यो देशको सहयोग लिओस्, अर्काे देशको नलिओस् भन्ने खालको कूटनीतिक दवाब पनि नेपालले भोग्नुपरेको थियो ।
तर, अब कोरोना आउँदैछ । कोरोना संक्रमण फैलिएको अवस्थामा सहयोग गर्नसक्ने एक मात्र देश छ । त्यो देश हो चीन ।
कोरोना महामारी नियन्त्रणका लागि चीनको सहयोग पाउन सबै देश लालायित छन् । कोरोनाबाट सर्वाधिक प्रभावित दुई देश इरान र इटाली हुन् । इरानमा सुरुदेखि नै चीनले सहयोग दिन सुरु गरिसकेको छ । अहिले आएर इटाली पनि चीनको सहयोग लिन वाध्य भएको छ ।

चीनले आज एउटा विमान इटाली पठाएको छ । सो विमानमा नौ जना चिकित्साकर्मी, ३१ टन स्वास्थ्य सामग्री रहेको छ । इटालीले चीनबाट निरन्तर सहयोगको अपेक्षा गरेको छ । इटालीमा आठसय भन्दा धेरैको कोरोनाका कारण ज्यान गइसकेको छ ।
कोरोनाको महामारी सबैभन्दा पहिले चीनको उहान सहरमा देखिएको थियो । त्यहाँ कोरोना लगभग नियन्त्रण भइसकेको छ । कोरोनाको अनुभव चीनसँग छ, महामारी नियन्त्रणको अनुभव चीनसँग छ । स्वास्थ्य सामग्री विशाल परिमाणमा उत्पादन गर्ने क्षमता पनि चीनसँगै छ । त्यसैले सबैले चीनसँग सहयोग लिनुपर्ने अवस्था आएको छ ।
जानकारहरु भन्छन्– अब विश्वमा ‘कोरोना डिप्लोमेसी’ चल्नेछ र त्यसको नेतृत्व चीनले गर्नेछ ।


प्रतिकृया दिनुहोस