जर्मनी र वेलायतको आधाभन्दा धेरै मानिसलाई कोरोना लाग्ने चिन्ता
काठमाडौं । जर्मनीकी चान्सलर एन्जेल मर्केलले आफ्नो देशका ६० देखि ७० प्रतिशत जनता आगामी दिनमा कोभिड–१९ बाट संक्रमित हुनसक्ने बताएकी छिन् ।
राजधानी बर्लिनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन् ।
उनले जर्मनीका मानिसमा रोग प्रतिरोधात्मक क्षमता थोरै भएको पनि बताइन् । रोयटर्स समाचार एजेन्सीका अनुसार अहिलेसम्म जर्मनीमा १२९६ जनामा कोभिड–१९ देखिएको छ ।
चान्सलर मर्केलले भेटघाटमा हात नमिलाउन पनि अपिल गरिन् ।
यस अघि वेलायतको एक सञ्चार माध्यमले वेलायती सरकारको गोप्य रिपोर्ट सार्वजनिक गरेको थियो । जसमा वेलायतका ८० प्रतिशत मानिसलाई कोभिड–१९ ले छुने आकलन गरिएको थियो ।
वेलायतमा अहिलेसम्म ४५६ जनालाई कोभिड–१९ देखिएको छ ।
युरोपको इटालीमा भने १० हजारभन्दा धेरैलाई संक्रमण देखिएको छ । पूरै इटाली अहिले लकडाउनका हालतमा रहेको छ ।


प्रतिकृया दिनुहोस