तेहरानमा आक्रमणपछि आयातोल्लाह अली खामेनीको मृत्यु पुष्टि, इरानमा ४० दिन शोक घोषणा
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको इरानका सरकारी टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। आइतबार बिहान इरानी अधिकारीहरूले आधिकारिक रूपमा उनको मृत्यु भएको जानकारी दिएका हुन्।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले इरानको इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजलाई उद्धृत गर्दै खामेनीसँगै उनकी छोरी, ज्वाइँ, बुहारी र नाति पनि मारिएको उल्लेख गरेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए। प्रारम्भिक चरणमा इरानी अधिकारीहरूले उक्त दाबी अस्वीकार गर्दै उनी सुरक्षित रहेको बताएका थिए। तर अन्तर्राष्ट्रिय समाचार संस्था Reuters का अनुसार पछिल्लो समय इरानी स्रोतहरूले नै मृत्युको पुष्टि गरेका छन्।
शनिबार बिहान अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा सैन्य आक्रमण गरेको जनाइएको छ। राजधानी तेहरानस्थित खामेनीको निवास नजिकै ठूलो विस्फोट भएको र धुवाँको मुस्लो देखिएको भिडियो तथा तस्बिर सार्वजनिक भएका थिए। उक्त आक्रमणमा निवाससहित आसपासका केही भवनमा समेत क्षति पुगेको बताइएको छ।
आक्रमणपछि राष्ट्रपति ट्रम्पले इरानी नागरिकहरूका लागि सत्ता आफ्नो नियन्त्रणमा लिने “सुनौलो अवसर” आएको टिप्पणी गरेका थिए।
८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनको निधनसँगै इरानको राजनीतिक भविष्य र क्षेत्रीय सुरक्षाको विषयमा विश्वभर चासो बढेको छ।


प्रतिकृया दिनुहोस