उठ्दैछ चीन, जित्दैछ कोरोनालाई
काठमाडौं । चीनले कोरोना भाइरसको प्रकोपलाई नियन्त्रणमा लिएको छ । वुहान सहर मुख्य प्रभावित थियो, त्यहाँ १४ वटा अस्थायी अस्पताल बनाइएको थियो । दुईटा अस्पताल आजबाट बन्द गरिएको छ ।
वुहान सहरमा चीनका राष्ट्रपति सी चिनफिङ पनि पुगेका थिए ।
वुहानका दुईटा अस्थायी अस्पताल पूर्ण रुपमा बन्द गरिएको चीन सरकारले जनाएको छ । त्यसैगरी अन्य अस्पताल पनि रित्तै भएको जनाइएको छ ।
बाँकी १२ वटा अस्पताल पनि अवस्था हेरेर अब बन्द गरिने जनाइएको छ ।
चीनमा कोरोना संक्रमणबाट तीन हजार दुईसयजना भन्दा धेरैको ज्यान गएको छ ।
चीनले कोरोना नियन्त्रणका लागि गरेको संघर्ष विश्व इतिहासमा अद्भूत मानिएको छ । एक अर्ब ३० करोड जनसंख्या भएको चीनले दुई करोड हाराहारी जनसंख्या भएको वुहान सहरबाट अन्यत्र कोरोना फैलन दिएन । तर, वुहानबाट विदेशिएकाहरुले अन्य देशमा पनि कोरोना लगे । त्यसकारण विश्वभर फैलिएको छ ।
चीनमा पूर्ण रुपमा कोरोना नियन्त्रणमा आइसकेको भने छैन । तथापि, अब कोरोनामाथि चीनले स्पष्टसँग जितेको छ र जितको अन्तिम घोषणा गर्न मात्र बाँकी छ ।
विश्वभरी कोरोना नियन्त्रणमा नआएसम्म कुनै पनि देशले कोरोनामाथि विजय पाएको मान्न सकिन्न । तथापि, चीनले पाएको यो विजयले विश्वलाई नै उत्साहित बनाइदिएको छ ।


प्रतिकृया दिनुहोस