• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कठै अफगानिस्तान ! अझै नछाड्ने भयाे राजनीतिक अस्थिरताले

विदेश डेस्क

विदेश डेस्क


  काबुल । विश्वकाे सबैभन्दा दुखी र अस्थिर देशकाे सूचीमा पर्छ अफगानिस्तान । याे देशमा अ‌ाजबाट दुईजना राष्ट्रपति भएका छन् । एकजना हुन् असरफ घानी र अर्का हुन् अब्दुल्लाह अब्दुलाह ।

अ‌ाज दुवैजनाले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन्     
     
सोमबार दिउँसो घानीले सपथग्रहण गरेको घोषणा गरेकै बेलामा अब्दुलाहले पनि सपथग्रहण गरेको दाबी गरेका छन् । घानीले राष्ट्रपति कार्यालयमै विशेष समारोहको आयोजना गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हालेको घोषणा गरेका थिए ।     
     
समारोहमा अमेरिकी विशेष प्रतिनिधि जाल्माय खालिल्जाद, अमेरिकी कार्यवाहक राजदूत रोस विल्सन, नाटो फौजका कमान्डर जनरल स्कट मिलरसँगै युरोपेली सङ्घ, क्यानडा अस्ट्रेलिया, डेनमार्क, जर्मनी र नर्वेका राजदूत उपस्थित थिए ।     
     
अर्कोतर्फ प्रमुख कार्यकारी अब्दुलाहले पनि राष्ट्रपतीय निर्वाचनमा आफू विजयी भएको दाबी गर्दै राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन् ।     
     
त्यहाँ गत सेप्टेम्बरमा राष्ट्रपति पदकाे चुनाव भएकाे थियाे जसमा घानी विजयी भएकाे बताइएकाे थियाे । तर, अब्दुल्लाहले अ‌ाफू विजयी भएकाे घाेषणा गरेका थिए । सेप्टेम्बरमा निर्वाचन भए पनि परिणाम घोषणा हुन नसकेपछि घानीले पाँच महिनापछि विजयी भएको घोषणा गर्दै सपथ लिएका हुन् ।     
     
सेप्टैम्बरमा भएकाे चुनावकाे नतिजा गत डिसेम्बरमा घोषणा भएको थियाे । जसमा घानी झिनो मतअन्तरले विजयी भएका थिए ।     
     
दुवै नेताको आ–आफ्नै दाबीका कारण अफगानिस्तानको राजनीति थप सङ्कटमा पर्ने देखिएको छ । सपथग्रहण कार्यक्रम चलिरहेकै बेला राजधानी काबुलमा बम विस्फोटका घटना
पनि भएका छन् ।     
     
लामो समयदेखि गृहयुद्धमा फसेको अफगानिस्तानमा केही दिनअगाडि तालिवान लडाकू र अमेरिकाबीच आंशिक शान्ति सम्झौता भएको थियो । तर पनि हिंसात्मक घटना नरोकिँदा अफगानिस्तानकोे राजनीतिले सकारात्मक मोड लिन सकेको छैन । अमेरिकासँगको सम्झौता अनुसार अबको चरणमा तालीवान समूह र अफगान सरकारबीच शान्तिवार्ता गर्ने सहमति भएको थियो ।     
     
वार्ता सुरू गर्न अफगान तालिवान समूहले कैदीबन्दीको आदान प्रदान गर्नुपर्ने माग राखेको छ । यसमा सरकारले पाँच हजार तालिवान लडाकुलाई रिहा गर्ने र वदलामा तालिवान समूहले एक हजार अफगानी सैन्य अधिकारीलाई रिहा गर्ने शर्त रहेको छ । राष्ट्रपति घानीले शर्तसहितको वार्ता र तालिवानको कैदी आदान प्रदानको मुद्दालाई अस्वीकार गरेका छन् ।

दुई राष्ट्रपति भए पनि राज्यसत्तामा भने घानीकै पकड रहेकाे छ । तथापी दुई राष्ट्रपति घाेषणासँगै अफगनास्तान नयाँ खालकाे राजनीतिक अस्थिरतामा पुन फसेकाे चिन्ता व्यक्त गरिँदै छ ।    
–––   
 

प्रतिकृया दिनुहोस