अमेरिकाले शुल्क स्थगन गरे पनि व्यापारमा स्थायित्व छैनः संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसंघले एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित आयात शुल्क केही हप्ताका लागि स्थगन गरिएको निर्णयले विश्वव्यापी व्यापार वातावरणमा अनिश्चितता झनै गहिरिएको चेतावनी दिएको छ ।
राष्ट्रपति ट्रम्पले यसअघि अप्रिल २ मा सबै मुलुकका सामानहरूमा कम्तीमा १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको थियो । तर बजारमा देखिएको अस्थिरता पछि उहाँले ती शुल्कहरू जुलाई ९ सम्म स्थगन गर्ने निर्णय गर्नुभयो । पछिल्लो निर्णयअनुसार, सम्झौता गर्न समय दिनका लागि यो म्याद अब अगस्ट १ सम्म लम्ब्याइएको छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आईटीसी) की निर्देशक पामेला कोक–ह्यामिल्टनले सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “शुल्क केही समयका लागि रोकिए पनि, यो निर्णयले व्यापारिक अनिश्चितता अझ लम्ब्याएको छ । यस्ता अवस्थाले लगानी र दीर्घकालीन व्यापार सम्झौताहरूमा नकारात्मक असर पार्न सक्छ ।”
उहाँले व्यापारका लागि स्थायित्व र पूर्वानुमानयोग्यता अत्यावश्यक हुने स्पष्ट पार्नुभयो । “नियम पटक–पटक बदलिदा व्यवसायले भविष्यको योजना बनाउन सक्दैन,” उहाँले भन्नुभयो ।
कोक–ह्यामिल्टनले हालका व्यापारिक चुनौती केवल अमेरिकासँग मात्र सीमित नरहेको उल्लेख गर्नुभयो । युक्रेन युद्ध, आपूर्ति समस्या, वस्तुको मूल्यवृद्धि र घट्दो अन्तर्राष्ट्रिय सहयोगले विश्व व्यापारमा थप दबाब सिर्जना गरेको बताउँदै उहाँले यो समयलाई ‘एक प्रकारको संकटको आँधीबेहरी’ भनेर चित्रण गर्नुभयो ।
यद्यपि, उहाँले विकासशील देशहरूले आफ्ना क्षेत्रीय बजार बलियो बनाउन, आफ्नै देशमै प्रशोधन प्रक्रिया बढाउन, साना व्यवसायलाई प्रवद्र्धन गर्नेजस्ता उपायबाट केही स्थायित्व र नयाँ अवसरहरू पाउन सक्ने उल्लेख गर्नुभयो । साथै, चीनले अफ्रिकी देशहरूलाई आफ्नो बजारमा शुल्करहित पहुँच दिने घोषणा एउटा सकारात्मक सम्भावना भएको उहाँले बताउनुभयो ।


प्रतिकृया दिनुहोस