• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रहरीकै आडमा हुण्डी कारोबार गर्ने अनुजको समूह पक्राउ, प्रहरी अफिसरलाई भने 'छुट'

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं  ।  केही दिनअघि झापाको धुलाबारीमा प्रहरी अफिसरहरूको संरक्षणमा बसेर हुण्डी कारोबार गर्दै आएको अनुज मारुको समूहलाई केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ। पक्राउ परेका समूहमा अनुज मारु, कबिस मारु, निर्मल राई, दिपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल र सुनिल राई रहेका छन्।

तर, अचम्मको कुरा के भने—उक्त समूहलाई संरक्षण दिने प्रहरी अफिसरहरुलाई भने  प्रहरीले अहिलेसम्म न त सोधपुछ गरेको छ, न त अनुसन्धानमै समावेश गरेको देखिन्छ।

 स्रोतका अनुसार, अनुज मारुको नेपाल प्रहरीका उच्च पदस्थ अफिसरहरु—हालका एसपी विपिन रेग्मी,  राकेश थापा, नरहरी अधिकारी र सुवास बुढाथोकीसँग निकट सम्बन्ध रहेको छ। यस सम्बन्धकै कारण ती अधिकारीहरूले आर्थिक लाभ लिएको शंकासहित सूचना बाहिरिएको छ।

संरक्षण दिने प्रहरी अफिसरहरूले पूर्वमा धुलाबारीका प्रहरी इन्चार्जको जिम्मेवारी सम्हालिसकेका छन्। अहिले डिएसपी रहेका राकेश थापा समेत अघिल्लो कार्यकालमा धुलाबारीकै इन्चार्जका रूपमा कार्यरत थिए। स्रोतअनुसार, डिएसपी थापा झापा आउँदा सम्पूर्ण खर्च अनुज मारुले व्यहोर्ने गरेका थिए र उनी मारुको घरमा बसेर छलफल गर्ने गरेका थिए।

अनुज मारुले प्रहरीका विभिन्न अधिकृतहरूसँग मिलेर तस्बिरहरू पनि खिचाएका छन्, जुन विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक भइसकेका छन्।

हुण्डी कारोबारमा संलग्न समूह पक्राउ परे पनि त्यसको संरक्षणमा रहेका प्रहरी अफिसरहरूमाथि कुनै कारबाही वा छानबिन नहुनु चिन्ताजनक र शंकास्पद विषय बनेको छ।

स्रोतका अनुसार अनुज मारुको समूहले २० अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको अनुमान गरिएको छ। सो कारोबार ‘कल्पवृक्ष सहकारी संस्था’ मार्फत भएको र अनुजले विभिन्न व्यक्तिहरूलाई प्रतिलाख एक सय रुपैयाँ दिने सर्तमा संलग्न गराएको पनि पाइएको छ।

अहिले अनुज मारु र उनको समूहलाई छुटाउन नेपाली कांग्रेस झापाले दबाब दिइरहेको  छ।

प्रतिकृया दिनुहोस