• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

यो सिजनको सगरमाथा आरोहणको ढोका खुल्यो 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । एटके एक्सपिडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोसम्म डोरी टाँगे पछि यो सिजनको सगरमाथा आरोहणको ढोका खुलेको छ ।

अब यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहीबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए ।

सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । अहिले मौसम अनुकूल रहेकाले पहिलो लटमा नै सर्वाधिक आरोहणको अनुमान गरिएको छ । सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको छ ।  

सगरमाथाको तेस्रो र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थापनमा शेर्पा कामदार खटिएका छन् । आरोहण प्रतीक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन् । आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवतजावत गरिरहेका हुन् । मे १२ देखि १५ सम्म समिट वीण्डो छ र उक्त अवधिमा धेरै आरोहण हुने एक्सिपिडिसन कम्पनीको अनुमान छ । मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पटक आरोहणमा जाम हुनसक्ने जनाइएको छ ।

अशोक लामाको नेतृत्वमा सातजना शेर्पा टोलीले सगरमाथाको चुचुरो सम्म डोरी टाँगेको छ । टोलीमा छिरिङ पेम्बा शेर्पा, पेमानुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेञ्जी शेर्पा थिए । यस पटक सगरमाथाको रोप फिक्सिमा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएका हुन् ।  

सगरमाथामा मात्रै नभई ल्होत्से र आमादब्लम हिमालमा पनि बाक्लो हिउँका कारण बाटो बनाउन कठिन भएको काममा खटिएका शेर्पाहरूले जनाएका छन् । जलवायु परिवर्तनको प्रभावले आरोहण क्षेत्रमा बढी रक भेटिएकाले बाटो बनाउने कार्य कठिन भएको शेर्पाले जनाएका छन् । खराब मौसमका कारण सगरमाथाको दोस्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ । चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए । 

यो याममा विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा ३१ औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान आफैँ तोड्ने तरखरमा हुनुहुन्छ । टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुग्नुभएको छ । 

त्यस्तै अर्का विश्व कीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अति विशिष्ट पाहुना लिएर आरोहणमा जानुभएको छ । आठ हजार मिटरभन्दा माथिका हिमाल दुई पटक सफल आरोहण गर्नुभएका उहाँले तेस्रो पटक आठ हजार मिटरमाथिका हिमाल आरोहणको तयारीमा हुनुहुन्छ । 

यसै गरी भारतकी सबैभन्दा ज्येष्ठ नागरिकले आरोहण गर्ने तयारीमा हुनुहुन्छ । यो पटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही छन् ।

पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार यो सिजनमा हालसम्म ४४ आरोही समूहका ४ सय २१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक/दुई टिम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । 

प्रतिकृया दिनुहोस