प्रहरी गर्ने अध्ययन, अनुसन्धानको काममा प्रविधिलाई जोड्न जरुरी : चेतनारायण आचार्य
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरीलाई प्रविधि मैत्री बनाउनु पर्ने बताउनुभएको छ ।
बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन गर्दै आचार्यले नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भएको भए पनि केही घटनामा परिणाम ल्याउन नसक्दा आलोचना हुने गरेको बताउनुभयो ।
अनुसन्धान प्रक्रियालाई अझ परिष्कृत गर्दै नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘प्रहरी गर्ने अध्ययन, अनुसन्धानको काममा प्रविधिलाई जोड्न जरुरी छ, अहिले धेरै अपराध साइबर माध्यमबाट हुन थालेका छन्, तसर्थ अनुसन्धान प्रविधि मैत्री हुनुपर्छ’, उहाँले भन्नुभयो ।
लुम्बिनी प्रदेशका छ जिल्लाहरू भारतसँग सिमाना जोडिएका र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती रहेको उहाँले बताउनुभयो । सीमाबाट अपराधीहरू सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
.jpg)
उहाँले खुला सीमाका कारण राजस्व चुहावट भइरहेकोले तस्करीलाई निरुत्साहित गर्न प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने उहाँको धारणा छ । यसका लागि प्रहरी प्रशासनले प्रभावकारी योजना बनाउनुपर्ने उहाँको सुझाव छ ।
गोष्ठीमा नेपाल प्रहरीका उच्च अधिकारीहरू, अपराध अनुसन्धान विशेषज्ञ तथा लुम्बिनी प्रदेश प्रहरीका प्रमुखहरूको उपस्थिति रहेको छ । कार्यक्रममा अपराध अनुसन्धानका चुनौतीहरू, अनुसन्धान प्रविधि र सुरक्षा रणनीतिबारे विस्तृत छलफल गरिनेछ ।
उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायत, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की, लुम्बिनी प्रदेशका मुख्य महान्यायाधिवक्ता यमलाल खनाल लगायतको विशेष उपस्थिति थियो ।


प्रतिकृया दिनुहोस