• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भारतमा रेल दुर्घटना : ज्यान गुमाउने नेपालीको संख्या ७ पुग्यो, सरकारद्वारा दु:ख व्यक्त

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । भारतको महाराष्ट्र राज्य अन्तर्गत जलगाउँको परधाडे स्टेसन नजिकै माघ ९ गते भएको रेल दुर्घटनामा परी ज्यान गुमाउने नेपालीको संख्या ७ पुगेको छ ।

उक्त रेल दुर्घटनामा परी अछामका ४, कैलालीका २ र बाँकेका १ जना नेपाली नागरिककाे ज्यान गएकाे परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । 

ज्यान गुमाउनेमा अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला कला कामी छन् । कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी  र बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ ।

साे रेल दुर्घटनामा परी ४ नेपाली घाइते भएका छन् । तीमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते १ जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ ।

साे दुर्घटनामा परी ७ नेपालीसहित १२ जनाको ज्यान गएको घटनाप्रति परराष्ट्र मन्त्रालयले दुःख व्यक्त गरेको छ । उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै मन्त्रालयले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

दुर्घटनामा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचार गर्नका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस