अनलाइन ठगीबाट जोगिनू : सीआईबी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट जाेगिन अनुरोध गरेको छ ।
सीआईबीले शुक्रबार विज्ञप्तिमार्फत साे आग्रह गरेकाे हाे । केही दिन यता सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमो लगायतबाट फोन गरी डिजटिल वालेट तथा बैंक-वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आमसर्वसाधारणलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गरिएको पाइएको सीआईबीले जनाएकाे छ ।
ती घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सीआईबीले लोभमा नफस्न अनुरोध गरेको छ । हालैमात्र पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको ५ लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौं रकम ठगी भएको र उक्त विषयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएकाे छ ।
सीआईबीले ७ बुँदै अपिल पनि जारी गरेकाे छ । उसले इसेवा, खल्ती जस्ता वालेट, बैंक तथा वित्तीय संस्थाको लोगो समेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटकपटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाइँको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटिपी माग गर्नेहरूसँग सावधानी हुन अनुरोध गरेको छ ।
सावधानी नभए क्षणभरमा नै उक्त वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेटमा वा बैंक खातामा ट्रान्सफर हुने भनी सजग पनि गराएको छ ।
सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेज पठाउने र विभिन्न किसिमका एआइले बनाएको आवाजबाट कल गरी तपाइँको सामान आएको छ, तपाइँलाई फाइदा हुने खालको व्यापार छ भन्ने जस्ता लिंक पठाई खोल्न लगाउने र लिंक खोल्नेबित्तिकै युजरनेम र पासवर्डमा पहुँच पुर्याएर पैसा रकमान्तर गर्ने गरेको भन्दै त्यसतर्फ पनि सावधानी हुन सीआईबीले अनुरोध गरेको छ ।
अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने अवस्था समेत रहेको सीआईबीले जनाएको छ ।
यस्ता कार्यमा यस्तो कार्यमा हालसम्म ५ सय बढी फोन नम्बर सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएका फोन तथा म्यासेज नउठाउन तथा उत्तर नदिन पनि सीआईबीले सबैमा अनुरोध गरेको छ ।
यस्ता किसिमका ठगीमा संलग्न व्यक्तिहरूका सम्बन्धमा कुनै जानकारी भएमा यस केन्द्रीय अनुसन्धान ब्यूरो तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि सीआआईबीले अनुराेध गरेकाे छ ।


प्रतिकृया दिनुहोस