सुरु भयाे राजविराज विमानस्थलमा रात्रिकालीन उडान
काठमाडाैं । सप्तरीको राजविराज विमानस्थलबाट रात्रिकालिन उडान सुरु भएको छ ।
रात्रिकालिन उडान सेवाका लागि आवश्यक पर्ने विभिन्न उपकरण जडान गरिएसँगै बुद्ध एयरले यो विमानस्थलमा व्यवसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको हो ।
राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे - 'अब राजविराज छायामा पर्नेछैन, विमानस्थलाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिनेछ, यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किनेछन् ।'
मन्त्री पाण्डेले विमानस्थलको रात्रिकालीन सेवाले अर्थतन्त्र लगायत विविध क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताउनुभयाे । उहाँले विविधितापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवर्द्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने बताउनुभयाे । मन्त्री पाण्डेले राजविराजबाट सिधा पोखरालगायत गन्तव्यमा उडान गर्नेगरी आगामी दिनमा यसलाई विकास गरिनुपर्ने बताउनुभयाे । यसअघि उहाँले एयरफिल्ड लाइटिङ सिस्टमको उद्घाटन गर्नुभएकाे थियाे ।
यो सँगै रात्रिकालीन उडान हुने विमानस्थलको संख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौं, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालीन उडान भइरहेको छ ।
राजविराज विमानस्थलमा ०७६ माघ १८ देखि बुद्ध एयरले ७२ सिट क्षमताको एटीआर विमानमार्फत काठमाडौं-राजविराज-काठमाडौं दैनिक रुपमा नियमित उडान गर्दै आएको थियो ।
राजविराज विमानस्थल विसं २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गर्नुभएकाे थियाे । राजविराज विमानस्थलमा १ हजार ५ सय मिटर लामो र ३० मिटर चौडा पक्की धावन मार्ग छ । लामो समय बन्द रहेको राजविराज विमानस्थलबाट ०७५ असार १० गतेदेखि श्री एयरलायन्सले उडान सुरु गरेको थियो । उडान सुरु गरेको १ वर्षमा श्रीले राजविराज उडान बन्द गरेको थियो ।


प्रतिकृया दिनुहोस