कोरोना भाइरस: जानकारी दिने डाक्टरसहित चीनमा ६३६ को निधन
एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ६ सय ३६ पुगेको छ ।
चिनियाँ मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको तथ्यांकमा बिहीबार मात्र ७३ जनाको निधन भएको उल्लेख छ । बिहीबारसम्म थप ३१ हजार एक सय ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
गम्भीर बिरामी हुनेको संख्या नाै सय ६२ रहेको तथ्यांकमा उल्लेख छ । तथ्यांकमा एक हजार पाँच सय ४० जना अस्पतालबाट निको भएर फर्किएको उल्लेख छ ।
कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्स र हङकङमा एक–एक जनाको निधन भइसकेको छ । ती दुवै जना चिनियाँ नागरिकको निधन भएको हो ।
कोरोनाका बारेमा विश्वलाई जानकारी दिने चिकित्सकको निधन
कोरोना भाइरसबारे सबैभन्दा पहिला विश्वभर जानकारी दिने चिनियाँ चिकित्सकको निधन भएको छ । ३४ वर्षीय चिनियाँ चिकित्सक ली वेनलियान्गको कोरोना भाइरसको संक्रमणका कारण बिहीबार निधन भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । कोरोनाबाट संक्रमित भएपछि डा. ली १२ जनवरीमा अस्पतालमा भर्ना भएका थिए ।
कोरोना भाइरसबारे सूचना लुकाउन खोजिएको थियो । तर, चिकित्सक ली ले अस्पतालबाट भिडियो पोस्ट गरेर कोरोनाबारे जानकारी दिए । गत ३० डिसेम्बरमा एक च्याट ग्रुपमा आफ्ना सहकर्मीलाई सन्देश पठाएर सो भाइरसबारे जानकारी दिएका थिए ।
त्यसपछि कोरोनाको विषय बाहिर आयो । चीनको स्वास्थ्य विभागले लीसँग स्पष्टीकरण लिएको थियो । सामाजिक सञ्जालमा अफवाह फैलाएको भन्दै उनलाई वुहान प्रहरीले नोटिस दिइएको थियो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ डाक्टर ली को निधनमा दुःख व्यक्त गरेको छ ।
जापानमा पनि संक्रमितकाे संख्या बढ्याे
चीनपछि जापानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरु धेरै देखिएका छन् । जापानका ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा पनि कोरोनाको संक्रमण देखिएको बताइएको छ । उनीहरुलाई अस्पताल लैजाने तयारी भएको छ ।
यसअघि जहाजमा यात्रा गरिरहेका १० जनामा कोरोनाको संक्रमण देखिएपछि चालक दलका सदस्यसहित जहाजमा रहेका तीन हजार सात सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई गत बुधबारदेखि नै १४ दिने क्वारेन्टाइनमा राखिएको छ ।
चीन बाहिर २५ देशमा कोरोनाको संक्रमण देखिएको छ ।


प्रतिकृया दिनुहोस