निर्वाचन आचारसंहिता पालन गर्न आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी आचारसंहिता पालन गर्न आग्रह गरेको छ । मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण राजनीतिक दल तथा तीनै तहका सरकारलाई सो आग्रह गरेका हुन् ।
आगामी माघ ९ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन हुँदैछ । त्यसका लागि सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा कुनैपनि सञ्चार माध्यमबाट निर्वाचन सामाग्री प्रचारप्रसार नगर्न आग्रह गरिएको छ ।
आयोगले निर्वाचनकोे समयमा वेबसाइट, ट्वीटर, फेसबुक, भाइबर वा एसएमएस लगायत कुनैपनि विद्युतीय माध्यमको प्रयोग गरी मत माग्ने काम पनि नगर्न आग्रह गरेको छ ।
त्यस्तै मतदान कार्यलाई प्रभाव पार्ने गरी छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट लगायतका कार्य समेत नगर्न आयुक्त थपलियाले सचेत गराए ।
मौन अवधिमा आचारसंहिताको पालना भएनभएको आयोगले अनुगमन तथा सुपरिवेक्षण गर्नेछ । त्यसका लागि सात प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।


प्रतिकृया दिनुहोस