२० दिनमा रेल उपकरण नेपाल आइपुग्ने
काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट आगामी १० दिनपछि त्यहाँबाट हिँड्ने भएको छ । भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ ।
सो सेट नेपाल आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । फागुनसम्ममा रेल सञ्चालन गर्ने गरी तयारी अघि बढिरहेको उनको भनाइ छ । केही समय पहिले नै रेलमार्ग सम्पन्न भएको थियो ।
सरकारले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरीद प्रक्रिया अघि बढाएको छ । सो रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।
दुईवटा सेट खरीद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्को आइपुग्ने उनको भनाइ छ । उनले भने–‘सेट आइपछि नै सञ्चालनको तयारी हुनेछ ।’
सरकारले अहिले दुई वटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटले एक हजार दुई सयसम्म यात्रु बोक्न सक्नेछन् ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अन्य भौतिक पूर्वाधार निर्माण भइसकेको छ । यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनको भनाइ छ ।
यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।


प्रतिकृया दिनुहोस