• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

अमेरिकाले मार्‍याे इरानी सेनाका जनरल

सनराइज खबर

सनराइज खबर

एजेन्सी – इरानको सेनाका प्रमुख जनरल कासिम सोलेमानीलाई अमेरिकाले मारेकाे छ । इराककाे राजधानी बगदादको विमानस्थलमा एक हमलामा उनी मारिएका हुन् ।

यो आक्रमणको जिम्मेवारी अमेरिकाले लिएको छ । साे हमलामा कताइब हिजबुल्लाहका कमान्डर अबु महदी अल मुहान्दिस पनि मारिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी राष्ट्रपतिको निर्देशनमा काम गरिरहेका विदेशमा रहेका अमेरिकी सैन्यकर्मीले रक्षाका लागि सोलेमानीको हत्या गरेकाे उल्लेख गरेकाे छ । इरानले सुलेमानीलाई अमेरिकी हेलिकप्टरले आक्रमण गरेर मारेको बताएको छ।

इरानी टीभीले सो आक्रमणमा इराकी विद्रोही नेता अबु महदी अल-मुहान्दीस पनि मारिएको समाचार प्रसारण गरेको हाे । समाचारहरूमा अमेरिकी सेनाले इराकका केही विद्रोही नेताहरूलाई नियन्त्रणमा लिएको भनिएपनि त्यसको पुष्टि भएको छैन।

बग्दादमा रहेको अमेरिकी राजदूतावासलाई केही प्रदर्शनकारीले घेरा हालेको र अमेरिका सेनासँग मुठभेड भएको केही दिनपछि यो आक्रमण भएको हो।अमेरिकी रक्षामन्त्री मार्क एस्परले बिहीवार बेलुकी राजदूतावासको घटनाका लागि इरान जिम्मेवार रहेको बताउँदै अमेरिकी नागरिकमाथिको आक्रमण नसहने बताएका थिए।

तर, यो घटनाले अमेरिका र इरानबीचको दूरी थप बढाउने बताइएको छ । इजरायल र अमेरिकामाथि अब इरान तथा उसका समर्थकहरुले आक्रमण बढाउन सक्ने अनुमान गरिएको हो ।

साेलेमानी कुद्स फोर्सका जनरल थिए । साे फाेर्स इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कप्र्सको एक शाखा हो जो बाहिरी देशहरुमा खटिने गर्थ्याे । यसका प्रमुख कासिम सुलेमानीले सिधै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनाईलाई रिपोर्टिङ गर्थे । उनलाई खामेनाईको नजिक पनि मानिन्थ्यो ।

प्रतिकृया दिनुहोस