भिडभाड हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नू : स्वास्थ्य मन्त्रालय
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने ठाउँमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
छिमेकी मुलुकहरूमा कोभिड-१९ को नयाँ सब भेरिएन्ट जे एन. १ को संक्रमण बढिरहेकाले नेपालमा पनि भित्रिनसक्ने भन्दै मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गर्न मंगलबार विज्ञप्तिमार्फत आग्रह गरेकाे हाे ।
मेला, भाेज, पार्टी जस्ता भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा समेत विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।
नेपालमा कोभिड-१९ को नयाँ सब भेरिएन्ट जेन एन. १ को संक्रमण पुष्टि भइनसकेकाे भन्दै मन्त्रालयले सचेत रहन सुझाव दिएकाे छ ।
नेपालमा संक्रमण भित्रिन नदिन विभिन्न नाकामा नयाँ संक्रमणलाई दृष्टिगत गरी प्रवेश विन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरूमार्फत आवश्यक निगरानी भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा संक्रमण फैलिहालेमा मन्त्रालय कोभिड-१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।



प्रतिकृया दिनुहोस