• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

ओलीको बोली विश्लेषण : भाषण रोचक, संकेत गम्भीर 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । समकालीन अन्य नेताहरुभन्दा केपी ओलीमा एउटा खास भिन्नता देखिन्छ । विवाद चलिरहेको विषयमा सामान्यतया नेताहरु बोल्दैनन्, त्यस्ता विषयमा बोल्नपर्ला भनेर डराउँछन् । सकभर बोल्दैबोल्दैनन् । बोल्न परे पनि औपचारिकता मात्र पूरा गर्छन् । तर ओली भिन्न छन् । विवादास्पद विषयहरुमा पनि उनी खुलस्त बोल्छन् । कुनै मोलाहिजा नराखी वाक्प्रहार गर्छन् । 

सटिक, ठाडो र प्रष्ट भाषणका कारण ओली असाध्यै लोकप्रिय छन् र आलोचित पनि भइरहन्छन् । बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रम उद्घाटन समारोहमा ओलीले दमदार भाषण दिए । 

रोजगार कार्यक्रम तथा विकास प्रयासबारे उनले बोल्नु स्वाभाविक थियो । त्यसबाहेक उनले नेपालको परराष्ट्र मामिला र पार्टीभित्रको विवादबारे पनि सटिक टिप्पणी गरे । 

नेपालको वैदेशिक मामिलाबारे पूर्ववर्ती प्रधानमन्त्रीहरुले घोकेका जस्तो वाक्य औपचारिक रुपमा मात्र बोल्थे । तर, ओली अनौपचारिक शैली प्रयोग गरेर औपचारिक कुरालाई झन मजासँग प्रष्टाउने खुबी राख्छन् । 

उनले नेपालको अन्तराष्ट्रिय सम्वन्ध बिगार्न खोजिएको भन्दै त्यसरी ‘बिगार्ने काममा लाग्नुभन्दा बुद्धिलाई ठिक ठाउँमा लगाउनु’ भने । यसो भन्दा ओलीले कसैको नाम लिएनन् तर कार्यक्रममा उपस्थितहरु स्वाद मानेर हासे, ताली पिटे ।

ओलीको यो भनाईबाट के प्रष्ट हुन्छ भने नेपालको अन्तराष्ट्रिय सम्वन्ध बिगारिदिने प्रयास भएको रहेछ । उनले प्रष्ट नभने पनि बुझ्नुपर्ने कुरा के हो भने भेनेजुयला प्रकरणको आविष्कार नेपालको वैदेशिक सम्वन्ध बिगार्नकै लागि भएको रहेछ । नेपालको अन्तराष्ट्रिय सम्वन्ध बिगार्ने प्रयास भएको प्रधानमन्त्रीले नै खुलासा गरिसकेपछि प्रश्न उठ्छ– यस्तो प्रयास भेनेजुयला प्रकरणबाट मात्र भएको हो कि अन्य तरिकाले पनि भएको छ ? अनि, नेपालको परराष्ट्र सम्वन्ध बिगार्ने प्रयास आगामी दिनमा चाहिँ गर्लान् कि नगर्लान् ?

यस्ता विषयमा चाहिँ ओली बोलेनन् । जति खुलस्त बोले पनि ओली प्रधानमन्त्री हुन्, पदीय दायित्वका कारण उनको खुल्ने र बोल्ने खास सीमा हुन्छ । अर्थात्, ओलीले थप खुलस्त नपारे पनि नेपालभित्रबाट परराष्ट्र सम्वन्धमा विचलन ल्याउन चलखेल भइरहेको छ भन्ने प्रष्टै भयो । 

नेपालको अन्तराष्ट्रिय सम्वन्ध बिगार्ने प्रयास भेनेजुयला प्रकरणबाट मात्रै भएको अवश्य होइन । जोजसले यस्ता प्रयास गरे, उनीहरुले थकाई मारिसके त ? हार स्वीकार गरेर बसिसके त ? यो प्रश्नको जवाफ पनि ओलीले दिने कुरा भएन । बुझ्नुपर्ने कुरा के देखियो भने नेपालको परराष्ट्र सम्वन्धलाई गिजोल्न आगामी दिनमा थप प्रयास हुनसक्छ । 

ओलीले भनेको अर्काे एउटा वाक्य अर्थपूर्ण देखिन्छ । उनको भनाई छ– ‘एक ठाउँमा एउटा कुरा र अर्को ठाउँमा अर्को कुरा गर्ने काम हामीबाट हुँदैन ।’

ओलीको यो भनाईलाई सार वाक्य मान्न सकिन्छ । यो वाक्य बोलेर उनले परराष्ट्र मामिलामा ‘डबल स्टाण्डर्ड’ व्यवहार नगर्ने खुलस्त गरे । छिमेकी र अन्य देशहरु कसैका पनि विरुद्ध कुनै कार्ड खेल्दैनौं तर पञ्चशीलको सिद्धान्तबाट पछाडि हट्दैनौं भन्ने विचार ओलीले राखे । 

नेपालको स्वाधीनता, सार्वभौमिकता जस्ता विषयमा कतिपय नेताहरु बोल्न मान्दैनन्, यस्ता शब्द उच्चारण गर्दा कुनै देश रिसाउला कि भनेजस्तो गर्छन् । यो प्रवृत्तिलाई पनि ओलीले प्रहार गरे । उनको आशय थियो– सार्वभौमिकता, स्वाधीनताको कुरा गर्दा कसैप्रति लक्षित भयो कि भनेर डराउन पर्दैन । 

कार्यक्रममा ओलीले पार्टीभित्रबाट आफ्नो सरकारलाई भएको प्रहारलाई रोचक र लाक्षणिक ढंगले अथर््याए । उनले भने– ‘अहिले सरकार संचालन गर्ने पार्टी नेकपा हो, त्यसभित्र समस्या पैदा गर्ने कोशिस..’ यति भनिसकेर बोली टक्क रोके त्यसपछि एउटा खास लवजमा भने– ‘ओहो, थामिसक्नु छैन ।’ 

यसरी नेकपाभित्रको अहिलेको अवस्थालाई उनले एकै वाक्यमा छर्लङग पारिदिए । 

ओलीको यो भाषणले नेपाली राजनीतिलाई केही समय तरंगित बनाउने देखिन्छ । 
 

प्रतिकृया दिनुहोस