संसदीय दलकाे बैठकबाट सुटुक्क बाहिरिए बाबुराम
काठमाडौं । समाजवादी पार्टी संसदीय दलको बैठक सकिएको छ । बैठकपछि बोल्दै समाजवादी पार्टीका प्रमुख सचेतक रामशंकर अरगरियाले पार्टीका दुई मन्त्रीको राजीनामा बारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।
यसअघि मंगलबार उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए ।
अरगरियाले सरकार संविधान संशोधनका लागि तयार नभएकाले मन्त्रीहरुले राजीनामा दिएको जानकारी दिए । २ वर्ष अघिकाे दुई बुँदे सम्झौता कार्यान्वयन गर्न सरकार ठोस रुपले अगाडि नबढेको आरोप उनले लगाए ।
पार्टी उपाध्यक्ष रेणु कुमारी यादव प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन हुनै नसक्ने अभिव्यक्ति दिएपछि सरकारमा बस्नुको औचित्य नभएपछि राजीनामा दिनुपरेको बताइन् ।
यसैगरी संसदीय दल नसकिँदै नेता डा. बाबुराम भट्टराई बीचमै निस्किएका थिए । बैठक चलिरहेका बेला उनी अर्को ढोकाबाट बाहिर निस्किएका हुन् ।
उनले पत्रकारलाई कुनै प्रतिक्रिया समेत दिएका थिएनन् । उनले मंगलबार बसेको पदाधिकारी बैठकमा पार्टीले सरकार छोड्न नहुने धारणा राखेका थिए ।


प्रतिकृया दिनुहोस