• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

तलब बाहेक केही थाहा हुँदैन वैदेशिक राेजगारीमा जानेलाई

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । पछिल्लाे समय वैदेशिक रोजगारीमा जानेकाे संख्या बढ्दो छ । ठूलाे संख्यामा युवाहरु वैदेशिक राेजगारीमा जाने गरे पनि अधिकांश कामदार पूर्व जानकारी बिना नै जाने गरेको पाइएको छ । 

कामदारले वैदेशिक राेजगारीमा जाँदा तलब बाहेको अन्य कुरामा ध्यान नदिएकाे राष्ट्रिय मानवअधिकार आयोगले जनाएकाे छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा  बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा आयोगले अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा कामदारले सामान्य जानकारी समेत नभएको देखिएको आयोगका सदस्य सुदिप पाठकले बताए। कामदारले तलबबारे सामान्य जानकारी लिएपनि सम्झौता पत्र मा खासै चासाे नदेखाएको आयोगकका निर्देशक मुरारी खरेलले बताए  ।

अहिले पनि नेपाली कामदार १० हजार रुपैयाँ भन्दा बढी तिरेर जाने गरेका छन् ।

यस्तै महिला कामदारलाई आफूले गर्ने कामका बारेमा समेत जानकारी नहुने अनुगमनमा पाइएको छ । दोस्रोपटक वैदेशिक रोजगारीमा जाने कामदारलाई सामान्य जानकारी भएपनि त्यो पर्याप्त नभएको आयोगको निष्कर्ष छ । 

त्यस्तै अध्यागमन विभागका कार्यकारी निर्देशक ईश्वरराज पौडेलले रोजगारीमा जाँदा आफूसँगै राख्नुपर्ने कागजात, काम तथा सम्बन्धित देशको कानुनका बारेमा सामान्य सोधपुछ गर्ने बताए । रोजगारीमा जाने कामदारले आफ्नो कागजात आफैसँग नराखेसम्म सुरक्षित हुन नसकिने पौडेलको भनाइ छ । 

त्यस्तै वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुषालले कामदारलाई नयाँ तरिकाले ठग्‍ने प्रवृति बढेको बताउँछन् । उनले पर्यटन भिसाकोे कागजात अध्यागमनमा देखाउदै श्रम भिसामा लैजाने गरेकाे बताए ।

अनुगमनपछि मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जाने कामदार प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ठगिदै आएको उल्लेख गदै सरकारलाई छिट्टै प्रतिवेदन बुझाउने जनाएको छ  । 


 

प्रतिकृया दिनुहोस