ओली सरकारमाथि आउन सक्ने चार खतरा
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रष्ट भनिदिए– यो सरकार ढल्दैन । साँच्चै ढल्दैन त ? यो सरकार कुन अवस्थामा ढल्न सक्छ ? सरकारमाथि खतरा के आइलाग्न सक्छ ? सरकारलाई कताबाट खतरा छ ? यसबारेमा सनराइज खबर डेस्कले तयार पारेको विश्लेषण ः
१ ) पार्टी भित्रैबाट खतरा
प्रतिपक्षी दलहरुका कारण सरकार गिर्ने खतरा शून्यप्राय छ । प्रतिनिधिसभामा सत्तापक्षको स्पष्ट बहुमत छ । नेपालको अहिलेसम्मको इतिहास हेर्दा कुनै पनि सरकारलाई सबैभन्दा धेरै खतरा आफ्नै पार्टी भित्रबाट हुने गरेको देखिन्छ । झन बहुमतको सरकारलाई आफ्नो पार्टी बाहेक अन्यत्रबाट खतराको सम्भावना अत्यन्तै न्यून हुन्छ ।
ओली सरकारलाई पार्टीभित्रबाट चुनौति त छ तर खतरा नै चाहिँ छैन । पार्टीभित्र खासखास नेताहरुले सरकारप्रति असन्तुष्टि देखाउने गरेका छन् तर उनीहरु सरकारको समग्र कामप्रति भने सन्तुष्ट देखिन्छन् । अर्थात्, ओली सरकारप्रति पार्टीभित्र गुनासो छ तर असन्तुष्टि छैन ।
तर, भोलि गएर पार्टीभित्रैबाट सरकारमाथि खतरा आइलाग्न सक्छ । नेपालको इतिहासले यसै भन्छ ।
२) विदेशीबाट खतरा
नेपाल स्थिरतामा नजाओस् भन्ने विदेशी शक्तिहरुको चाहना संविधान निर्माणको कालखण्डमा अलिअलि प्रष्ट र संविधान जारी भइसकेपछि पूरै प्रष्ट भएको हो । त्यसैले नेपालमा स्थिर सरकार हुँदा स्वाभाविक रुपमा विदेशीबाट खतरा हुने नै भयो । तर, विदेशी फ्याक्टरले तबसम्म खतरा सिर्जना गर्न सक्दैन जबसम्म उनीहरुले स्वदेशी एक्टरहरुलाई खेताला बनाउन सक्दैनन् ।
नेपाली राजनीतिमा छिमेकी भारत र चीनको चासो र रुची स्वाभाविक हो । अमेरिका र यूरोपेली मुलुकहरुको पनि चासो र रुची रहँदै आएको छ । प्रष्ट शब्दमा भन्नपर्दा उनीहरु सबैको नेपालमा आआप्नो स्वार्थ छ । यस्ता शक्तिहरु कहिले कसको कोसँग स्वार्थ मिल्छ, कहिले स्वार्थ बाझ्छ भन्ने आफ्नै ठाउँमा छ ।
विदेशी शक्तिहरुबाट नेकपा सरकारलाई चाँडै खतरा नआउन सक्छ । किनभने विदेशी हस्तक्षेबाट आजित जनताले सुस्थिर र हस्तक्षेप चिर्नसक्ने सरकार चाहेका थिए । विदेशीले नेपाली एक्टरहरुलाई खेलाएर सरकार विरुद्ध खतरा पैदा गराए भने जनता खिलाफमा उभिन्छन्् । त्यसैले स्थिर सरकार विरुद्ध शशक्त घृणा अभियान चलाएर जनताको ‘व्रेन वास’ नगरी विदेशी शक्तिहरुले ओली सरकारमाथि खतरा पक्कै ल्याउँदैनन् । अहिले घृणा फैलाउने, निरासा जगाउने, भ्रम फैलाउने काम देशभित्र व्यापक रुपमा भइरहेको छ । सरकारले यसलाई चिर्न सकेन, निस्तेज बनाउन सकेन भने चाहिँ चाँडै खतरा नआउला भन्न सकिन्न ।
३ ) सिस्टम फेलियर
नेपालको संविधान निर्माणमा जजसले सघाउँछु भन्दै विदेशी शक्तिहरुले पैसा खनाए उनीहरु त संविधान नै नबनोस् भन्ने पक्षमा रहेछन् भन्ने प्रमाणित भइसकेको तथ्य हो । त्यस्ता विदेशी शक्तिहरुले नेपालको अहिलेको राजनीतिक प्रणाली माथि नै प्रहार गर्न सक्छन् । अर्थात्, यो राजनीतिक प्रणालीलाई नै अफापसिद्ध गर्ने डिजाइन उनीहरुको हुनसक्छ । यो अवस्थामा ओली सरकारमाथि ठूलो खतरा आइलाग्न सक्छ ।
तर, यस्तो खतरा त्यसै आइलाग्दैन, लामो र सुनियोजित प्रयास चाहिन्छ । सरकार र प्रणाली विरुद्ध घृणा फैलाउने, जनतामा निरासा र असन्तोष फैलाउने काम गरेर मुलुकलाई अस्थिरतामा लग्ने प्रयास हुनसक्छ । यसका लागि प्रतिपक्षी नेपाली कांग्रेस पनि तयार हुनुपर्छ । सरकारको विरुद्धमा कांग्रेस हुनु स्वाभाविक हो तर ऊ समग्र प्रणालीकै विपक्षमा उभिन्छ कि उभिँदैन ? यो मुख्य प्रश्न हो । संसद वैठक अवरुद्ध गरेर कांग्रेसले प्रणालीको अवज्ञा थाल्नु शुभ संकेत होइन । तर, सिस्टम फेलियर को अवस्थामा देशलाई पुराउन कांग्रेस तयार हुन अति नै गाह्रो छ ।
विभिन्न मुलुकहरुमा निर्वाचित सरकार विरुद्ध बल प्रयोग गरेर तथा सुनियोजित रुपमा जनतामा असन्तोष फैलाएर गिराउने काम गरिएको छ । ‘सिस्टम फेलियर’ गराइएका उदाहरण अनेक छन् । नेपालमा पनि त्यस्तै गर्ने प्रयास हुनसक्छ ।
तर, नेपाली जनमत यति बलियो छ कि मुलुक सिस्टम फेलियरको अवस्थामा पुग्न असम्भव प्रतित हुन्छ । अर्थात्, यो कोणबाट पनि ओली सरकार गिर्ने देखिँदैन ।
४ ) विश्वाशको मत
अस्थिर सरकारका कारण मुलुक लामो समय पीडित बन्यो । यसको उपचार संविधानबाटै गरियो– सरकार बनेको दुई वर्षसम्म अविश्वाशको प्रस्ताव राख्न नपाइने भनेर । अर्थात्, अरु एक वर्ष यो सरकार विरुद्ध अविश्वाश प्रस्ताव ल्याउन सकिँदैन । तर, अर्काे खतरा छ– प्रधानमन्त्रीलाई विश्वाशको मत लिन वाध्य बनाइन सक्छ ।
सरकारको नेतृत्व गर्ने राजनीतिक दल विभाजित भएको अवस्थामा प्रधानमन्त्रीले विश्वाशको मत लिनुपर्ने हुन्छ । यो अवस्था छैन । संसदीय दल र केन्द्रिय समिति दुवैतिर ४० प्रतिशत पुराएर मात्र दल विभाजन गर्नुपर्ने व्यवस्था नयाँ संविधानमा छ । त्यसैले विगतमा जसरी सजिलै दल विभाजन हुन सक्दैन । सत्तासीन नेकपाभित्र मतभेद हुनु, नयाँनयाँ विवाद आउनु सामान्य हो तर पार्टी विभाजनको अवस्था छैन । त्यसैले पार्टी विभाजनका कारण ओलीले विश्वाशको मत लिनुपर्ने सम्भावना शून्यजस्तै छ ।
सरकारमा संघीय समाजवादी फोरम (उपेन्द्र यादव) पनि छ । यो पार्टीले सरकार छाडेमा भने ३० दिनभित्र विश्वाशको मत लिनुपर्ने हुन्छ । संविधानको धारा सयको उपधारा दुईमा लेखिएको छ– ‘सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।’
मानिलिउँ फोरमले समर्थन फिर्ता लिने घोषणा गर्यो । त्यस अवस्थामा विश्वाशको मत लिनुपर्ने हुन्छ । यो चाहिँ सरकारका लागि अलि खतरापूर्ण अवस्था प्रतिति हुन्छ । त्यस्तो अवस्था आयो अनि नेकपाभित्रै चलखेल भयो भने ओली नेतृत्वको सरकार डग्मगाउन सक्छ ।
ओली नेतृत्वको सरकार अहिले पूरै सुरक्षित छ, किनभने जनमत नै स्थिर सरकारको पक्षमा छ । तर, राजनीति हो, कतिबेला के खतरा उत्पत्ति हुन्छ भन्न सकिन्न । सरकारमाथि खतरा हुनु एउटा कुरा हो तगारो लगाइनु चाहिँ अर्काे कुरा हो । सरकारलाई अगाडि बढ्न र काम गर्न नदिन देखिने गरी र नदेखिने गरी तगारो लगाइन सक्छ । ओली सरकारले ब्यहोर्नुपरेका तगारो चाहिँ बेग्लै विश्लेषणको विष हो ।
यो सरकारमाथि सम्भावित खतरा माथि उल्लिखित चार हुन् । यी बाहेक अन्य कुनै खतरा तपाईंले देख्नुभएको छ कि ?


प्रतिकृया दिनुहोस