• ६ चैत २०८०, मंगलबार
  • Tuesday,19 March,2024

रंगशालामा बर्दीवाला ‘गुण्डा’को ताण्डव

टेकेन्द्र बुढाथाेकी

टेकेन्द्र बुढाथाेकी

काठमाडौं । केही प्रहरी अधिकारीहरुको कर्तूतले सागको ऐतिहासिक सफलतामा आंशिक ग्रहण लागेको छ । दशरथ रंगशालामा प्रहरीले पत्रकार तथा सर्वसाधारणमाथि चरम दुर्व्यवहार गरेका छन् । 

पुरुष फुटबलको फाइनलमा पुगेको छ नेपाल । त्यसैले दर्शकको संख्या बढ्नु स्वभाविक हो । मंगलबार बिहान आधा घन्टाभित्रै आठ हजार दुई सय टिकट विक्री भएको थियो । यी सबै टिकट इसेवा अनलाइनबाट बेचिएको थियो । बुधबार बिहानैदेखि टिकट किन्न रंगशालामा सर्वसाधारणको घुईंचो लागेको थियो । तर, बेच्नका लागि टिकट थिएन । 

दशरथ रंगशालाको क्षमता १५ हजार नौ सय हो । आठ हजार दुई सय टिकट बेचियो भने बाँकी टिकट खोई ? रंगशाला पुगेका सर्वसाधारणले सोध्दै थिए । जवाफमा उनीहरुले प्रहरीको लाठी र दुर्व्यवहार पाए । 

सामान्यतया प्रहरीका तलको दर्जाकाहरुले सर्वसाधारणलाई दुर्व्यवहार गरेको घटना सुन्न देख्न पाइन्थ्यो । तर, आज भने प्रहरीका डीएसपीहरु नै दुर्व्यवहारमा उत्रिएको देखियो । बकाइदा पास भिरेका सञ्चारकर्मीलाई समेत डिएसपीहरुको टोलीले कुटपिट गरेका छन् । 

प्रहरीले गरेको दुर्व्यवहारको तस्विर खिचे पत्रकार सुमन चापागाईंलाई पनि प्रहरीले पिट्यो । उनलाई यसकारण पिटियो कि उनले प्रहरीले गरिरहेको दुर्व्यवहारको फोटो खिचेका थिए । 

अन्तर्राष्ट्रिय स्तरको फुटबल फाइनल हुँदा, अझ त्यसमाथि नेपाली टिम फाइनलमा पुग्दा रंगशालामा घुईंचो हुनु स्वभाविक हो । यस्तो बेला कसरी सर्वसाधारणलाई व्यवहार गर्ने, कसरी भीड नियन्त्रण गर्ने भनी जवानहरुलाई सिकाउनुपर्ने डीएसपीहरु नै गुण्डा शैलीमा देखिए । डीएसपीहरुले पत्रकार तथा सर्वसाधारणमाथि गरेको आक्रमणको भिडियो हेर्दा उनीहरुलाई प्रहरी अधिकृत भन्नै मिल्दैन, उनीहरुको शैली टोले गुण्डाको जस्तो देखिन्छ । 

नेपाल प्रहरीको छवी विगतमा भन्दा धेरै सुध्रिएको छ । प्रहरीले सर्वसाधारणलाई गर्ने व्यवहारमा पनि धेरै नै सुधार आएको छ । तर, बीच-बीचमा देखिने अराजक व्यवहारका कारण प्रहरीको छवी बारम्बार पूरानै अवस्थामा फर्कने गरेको छ । 

डिएपी रुगम कुँवर, सन्तोष सिंह राठौर, राजेन्द्र धमला लगायतले दशरथ रंगशालामा जुन ताण्डव देखाएका छन् त्यसले साग सफलतापूर्व सम्पन्न भएकोमा खुसी भएका नेपालीलाई आहत बनाएको छ 

लाखौंलाख स्वदेशी तथा विदेशीको ध्यान दशरथ रंगशालामा केन्द्रीत भएको समयलाई प्रहरीले आफ्नो कौशल देखाउने मौकाका रुपमा प्रयोग गर्नुपर्थ्याे । तर, विपरित भयो । यस्ता प्रहरीलाई कारबाही गरिएको सन्देश प्रवाह गरेर मात्रै प्रहरी संगठनले आफ्नो छवी उजिल्याउन सक्छ । बर्दी लगाएर गुण्डा शैलीमा उत्रने प्रहरीहरुलाई कारबाही गर्न अब नेपाल प्रहरीले ढिलाई गर्नु हुदैन । 

प्रतिकृया दिनुहोस