रहेनन् गायक रुद्रमणि गुरुङ
काठमाडौं । दार्जिलिङका नेपाली गायक रुद्रमणि गुरुङको ८४ वर्षको उमेरमा निधन भएको छ ।
सिलिगुडीस्थित नर्थ बंगाल नर्सिङ होममा उपचारको क्रममा गुरुङको सोमबार निधन भएको हो । लामो समय दार्जीलिङमै सक्रिय रहेका गुरुङले स्वर साम्रज्ञी अरुणा लामासँग गाएको गीत ‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न’ नेपाली समाजमा अति लोकप्रिय छ ।
अम्बर गुरुङको रचना र संगीत तथा पासाङ वाङबलको शब्द रहेको सो गीत गाएर उनी नेपाली संगीतमा उदाएका थिए । साे गीत सन् १९५९ मा रेकर्डिङ गरिएको थियो ।
सोमबार निधन भएका गायक गुरुङको बुधबार दार्जीलिङ्गमा अन्त्यष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस