• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

अस्पतालबाट प्रधानमन्त्रीकाे भिडियो सन्देश : 'म उठेर कुरा गर्न सक्ने भएको छु' 

खबर स‌ंवाददाता

काठमाडौं । एपेण्डिसाइटिसकाे अप्रेसनपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा आ‍ेलीले भिडियाे सन्देशमार्फत् आफ्नाे स्वास्थ्य सुधार भइरहेकाे बताएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले अहिले आफू उठेर साथीभाईहरुसँग कुरा गर्न सक्ने भएकाे बताए ।  अस्पताल कक्षबाट सोमबार एक भिडियो सन्देश दिदै उनले यस्तो बताएका हुन् ।

सेन्टरको सघन उपचार कक्ष (आईसीयू) मा रहेका उनले भिडियो सन्देश जारी गर्दै भनेका छन् – ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइ राखेकाे छ ।' उनले थपे – 'तपाईंहरु देखिरहनु भएको छ, मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’

आफूले आइतबार १३ औं सागको उद्घाटन समारोह पनि पूरै हेरेको भिडियो सन्देश मार्फत् उनले बताएका छन् । ‘हुनसक्छ कि सक्दैन भन्ने दि्वविधा समाप्त भएकामा खुसी लाग्या छ’ – उनले भनेका छन् । 

यस्तो छ संवोधनको पूर्ण पाठ 

एपेण्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्‍याे। त्यसकारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागी हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

–केपी शर्मा ओली
 प्रधानमन्त्री
(मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयू कक्षबाट)
 

प्रतिकृया दिनुहोस