• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

बोलपत्र केरमेट गर्ने सात विरुद्ध मुद्धा

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । सडक डिभिजन कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख सि.डि.ई दिनेश अर्यालसहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

सि.डि.ई दिनेश, लेखा प्रमुख जिवनाथ पोखरेल, इन्जिनियरहरु राजकुमार यादव र सञ्जिव कुमार शाहमाथि ठेक्काको बोलपत्रमा केरमेट गरी सच्याएको अभियोग लागेकाे थियाे ।

त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे थियो ।

ठेक्काको बोलपत्र मुल्यांकन समितिमा बसेर भैरव कन्स्ट्रक्सन कम्पनीले पेस गरेको बोलपत्रको बि.ओ.क्यू को आइटम नं.२.३ र २.६ को दररेट अंक र अक्षरमा सच्याएका थिए । त्यसमा १९ लाख ५० हजार भन्दा बढी रकम थपेर सम्झौता गरेको अनुसन्धानबाट पुष्टि भएकाे छ ।

अ‌ायाेगका अनुसार भैरव कन्स्ट्रक्सन कम्पनीका सञ्चालक सुरेशलाल श्रेष्ठ र गोपाल श्रेष्ठ तथा मोहनप्रसाद यादवले गैरकानूनी रुपमा सरकारी कागजात सच्याई आफू र बोलपत्र दातालाई लाभ पुर्‍याएको पुष्टि भएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार बिगो रकम कायम गरी १० देखि २५ लाख रुपैयाँसम्म जरिवाना र दुई वर्ष ६ महिनादेखि चार वर्षसम्म कैद मागदावी गरिएकाे छ ।

त्यस्तै आयोगले सुरेशलाल , गोपाल र मोहन यादव लाई कसुर बमोजिम दुई वर्ष सम्म कैद र विगो जफत गर्न विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिकृया दिनुहोस