• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

स्वर्ण जितेका कराँते टाेलीका त्रिदेवी

राजेश भण्डारी र टेकेन्द्र बुढाथोकी

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेकाे कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाए निर्मला तामाङ, सरु कार्की र संगिता मगरकाे टाेलीले  ।

नेपालले पाकिस्तानको टिमलाई पछि पार्दै स्वर्ण जितेको हो । नेपालकाे टाेलीले पाकिस्तानका नाजारुल, नर्गिस र साहेदाकाे टाेलीलाई हराएका हुन् । जितपछि हर्षित तीनैजनासँग सनराइज खबरका राजेश भण्डारी टेकेन्द्र बुढाथाेकीले गरेकाे कुराकानीकाे सम्पादित अ‌ंश :  
 

'मम्मीकाे कारण कराँते खेल्न थालें'– निर्मला तामाङ

निर्मला तामाङले कराँते खेल्न थालेकाे १२ वर्ष भयाे । देशलाई स्वर्ण जिताउन उनी ज्यान फालेर लागेकी थिइन् ।

साेमबार उनकाे सपना पूरा भयाे । नेपाललाई स्वर्ण जिताएपछि हर्षित भएकी उनले आफ्ना पुराना दिन सम्झिइन् ।

‘६ कक्षामा पढ्दा कराँते खेल्न थालेकाे हूँ' – भन्छिन् '– मेरो इच्छा थियो थिएन मलाई थाहै भएन, मम्मीकै कारणले म कराँते खेल्न गएँ । ’

आफू जिद्दी भएकाले नै घरपरिवारले कराँते खेल्न पठाएकाे जस्ताे लाग्छ उनलाई । 

तर, अभिभावककाे त्यही निर्णयले उनलाई सफल खेलाडी बन्न प्रेरित गर्‍याे । परिवारकाे सोही निर्णयले नै आजकाे अवस्थासम्म आउन सकेकाे उनकाे विश्वास छ । 

'इच्छा नभएपनि मम्मीकै कारणले गर्दा कराँते खेल्न गएँ '– कराँते करियरकाे सुरुवाती दिन सम्झिदै उनी भन्छिन् – 'पछि बानी पर्‍याे , अहिले छोड्न नसक्ने अवस्थामा पुगेकाे छु ।’

कराँते खेल्नेमात्र हाेइन, पढाइलाई पनि निरन्तरता दिँदै छिन् निर्मला । 

अहिले उनी स्नातककोत्तर चौथो सेमेस्टरमा पढिरहेकी छिन् । 

कराँतेलाई निरन्तरता दिनुहुन्छ कि छाड्नुहुन्छ ? भन्ने सनराइज खबरको प्रश्नमा उनी भन्छिन् – ‘सुरुमा कराँते छाेड्छु भन्दै ५/६ महिना घर बसें तर सकिन ।' उनी थप्छिन् – ' यसलाई निरन्तरता दिने कि छाड्ने अहिले भन्न सक्दिन ।' 

मेहनत गर्न सके याे खेलमा भविष्य राम्राे रहेकाे उनकाे भनाइ छ ।

स्वर्ण पदक जितेर खुसी भएकी निर्मला याे सफलतामा परिवारकाे हात रहेकाे बताउँछिन् । मेहनकाे फल पाएकाेमा  दंग उनी अबकाे आफ्नाे लक्ष्य सुनाउँदै भन्छिन् –‘अब एसियन च्याम्पियनमा गोल्ड मेडल जित्ने इच्छा छ ।’ 

 

'टिम कम्बिनेशनले स्वर्ण पदक जित्न सहज'– सरु कार्की

स्वर्ण पदक जितेकाे ताताे अनुभव सुनाउँदै सरु कार्की भन्छिन् – 'अरु टाेलीलाई पहिले नै हराएको अनुभव भएपनि पाकिस्तानसँग जित्न सकिनेमा डर थियाे ।' 

तर उनलाई आफ्नाे टिममा विश्वास थियाे ।  

२० वर्षको उमेरबाट सुरु गरेकी उनले यो स्वर्ण भने पहिलोपटक जितेकी हुन् । यो विधामा पहिलो पटक स्वर्ण पदक जित्दा निकै खुशी लागेको उनले बताइन् । 

उनले यो जितको श्रेय प्रशिक्षक र परिवारलाई दिएको बताइन् । अब उनी कराँतेबाट टाढा हुन नसक्ने बताउँछिन् ।

दर्शकको हौसलाका कारण पनि आफू यो स्थानमा आइपुगेको बताउने उनलाई उनलाई सुरुमा कराँतेकाे बारेमा खासै थाहा थिएन ।  

निरन्तरका मेहनत र लगावका कारण सफलता चुम्न सफल भएकी सरुले खेल जित्ने तरिका अग्रजसँग सिकिन् । 

आफूले स्वर्ण पदक जितेको घरमा नभने पनि आमाले खेल टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरेको साथीले सुनाउँदा खुशीको सिमा नै नरहेको उनले भनिन् ।

‘आमाले लाइभ हेनुभएछ, आर्शिवाद पनि दिनु भएछ' दंग पर्दै सरुले भनिन् 'मेराे सफलतामा आमाले खुशीकाे आँसु नै खसाल्नुभएछ । '

याे खेलमा लागेकाे पाँच वर्ष भएको सुनाउँदै उनले भनिन्– ‘नेपाल प्रहरीमा आएपछि मात्रै खेल सुरु गरेको हो ।’ 

स्कुल पढ्दा अरु खेल खेलेपनि कराँतेमा भने २० वर्षको उमेरमा नेपाल प्रहरीमा आएपछि सबै थाहा भएको उनले बताइन् ।  

 

'दाईकाे प्रेरणाले खेल्न थालें' – संगिता मगर

खेलमा बाल्यकाल देखि रुची भएकी संगिता मगर नेपाल आर्मीकी खेलाडी हुन् । २८ वर्षकी संगिताले ८ वर्ष भयो कराँते खेल्न थालेको । 

दाईकाे प्रेरणाले उनले कराँते खेल्न थालिन् ।

संगिता भन्छिन् – ‘दाईलाई खेलेकाे देख्दा केटाले त सक्छन् भने मैले पनि सक्छु होला भन्ने लाग्थ्यो ।’ 

उनलाई याे खेल सिकाउने गुरु कुन्ती दिदी रहिछन् । खेल हेर्न जाँदा उनलाई पनि खेल्ने रहर जाग्याे ।

कुन्ती दिदीलाई आफ्नाे रहर बताएपछि उनैले स‌गितालाई  एक वर्ष तालिम दिइन् । खेल सिक्ने बेलाका कठिनाइ सम्झँदै उनले भनिन् – 'म उदयपुरको, दिदी सप्तरीको । तालिमलाई कठिनाई आएऽ तर मैले सिक्न छोडिन । ’

कुन्ती राईसँग एक वर्ष जति तालिम लिइ सकेपछि संगिता नेपाल आर्मीमा भर्ती भएकी थिइन् । संगिताले नेपाल आर्मीमा नौ महिना तालिम गरिसके पछि खेलाडीको रुपमा  आर्मी क्लवमा संलग्न भएको बताइन् । 

‘आफूभन्दा सिनीयरहरुले खेलेको देख्दा अचम्म लाग्थ्यो । कहिले आफूले खेल्ने होला जस्तो लाग्थ्यो ,खुल्दुली हुन्थ्यो’ – भन्छिन् उनी ।

उनले बंगलादेशमा भएको सागमा पनि यहि टिमसँग खेलेको स्मरण गरिन् । उनले स्वर्ण जितेकोमा खुशी व्यक्त गर्दै टिमसँगको राम्रो सहकार्यले गर्दा आज स्वर्ण जित्न सफल भएको बताएकी छिन् ।

परिवारको साथ सहयोगले गर्दा नै सफलता प्राप्त भएको बताउँदै संगिताले आफ्ना प्रशिक्षकहरु प्रति आभार व्यक्त गरिन् ।


 


 

प्रतिकृया दिनुहोस