बढ्यो कोरोना संक्रमण: एकै दिन ६९ जना संक्रमित
काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमण आज ह्वात्तै बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको थियो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल संक्रमण भित्रिएको बताउनुभयो ।
'भारतमा संक्रमण बढिरहेको छ । ती संक्रमित खुला सिमानाका कारण नेपालमा भित्रिँदा यहाँ संक्रमण बढेको हो', उहाँले भन्नुभयो, 'हामीले सीमा नाकामा कडाइ गर्न निर्देशन दिइसकेका छौँ ।'
उहाँका अनुसार अहिले सबभन्दा बढी सङ्क्रमित नेपाल भारतको कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन् ।
उहाँले सबैलाई स्वास्थ्यको मापदण्ड र खोप लगाउन आग्रह गर्नुभयो । भारतको उत्तरप्रदेश संक्रमण बढिरहेको छ ।
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।
–रासस


प्रतिकृया दिनुहोस