• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

‘नाचेर खाने नौटंकी भन्थे’

सनराइज खबर स‌ंवाददाता

नाटकको लतले कलाकार बनेका हुन्, मदनदास श्रेष्ठ ।

साँस्कृतिक नाटक र नाचबाट कलाकारितालाई अँगालेका मदनदासले नेपाली रंगमञ्चमा ठूलो योगदान दिएका छन् ।

रेडियो, नाटक, टेलिफिल्म र फिल्मलगायतका थुप्रै विधामा लागेका उनी साँस्कृतिक चाडपर्वमा गरिने नाटकबाट नै यो क्षेत्रमा प्रवेश गरेका हुन् ।

दोलखा जिल्लालाई पूर्व २ नम्बर दोलखा भन्ने चलन थियो । यही दोलखा बजारमा २००५ सालमा जन्मिएका हुन् उनी । उनको युवावस्थामा अहिलेजस्तो मनोरञ्जनका साधन थिएनन् । रेडियो–टिभीको कल्पनासम्म पनि थिएन ।

नेवारको बाहुल्य रहेको दोलखा बजारमा उनी आफ्ना समकक्षी युवासँग मिलेर जात्रा र चाडपर्वमा सांस्कृतिक कार्यक्रम र नाटक गर्थे । नाटकमा यसरी तनमन दिएर लाग्नुको मूल कारण भने मामाहरुको संगत रहेछ । मामाहरु नाटक मञ्चन गर्ने गरेको देखेर मदनदास प्रभावित भइ नाटकमा आकर्षित भएका रहेछन् ।

तर, नाटकमा लाग्नेहरुको सामाजिक प्रतिष्ठा नै थिएन । उनी सम्झन्छन् – ‘हामीलाई नाचेर खाने नौटंकी भन्थे ।’

देवी नाच, लाखे नाच, लाठी नाच, ट्वाकल प्याखन, खडी प्याखन, राजारानी मिलाएर नाच्ने, लठ्ठीको नाचलगायत धेरै नाच आयोजना गर्थे उनको टोलीले । युवा जमातको कला हेर्नका लागि टाढाबाट समेत मानिसहरु आउँदा भने दंग पर्थे, कलाकारको टोली ।

दोलखा भिनसेन दर्शन गर्न आउनेहरु नाच हेरेपछि रमाएर फर्कन्थे । रामनवमी, हिले जात्रालगायत चाडमा नजिकका गाउँका मान्छेहरुको भीड थामिनसक्नु हुन्थ्यो त्यसबेला ।

मदनदासको बुबा काठमाडौंमा सरकारी जागिरे भएकाले काठमाडौं आउने जाने क्रम चलि नै रहन्थ्यो । काठमाडौंमा नृत्य निर्देशक वसन्त श्रेष्ठ, राधेश्याम प्रधान, गौतम रत्नलगायत रंगमञ्चसँग जोडिएका साथीहरुसँग उनको संगत थियो । नेपाल कला केन्द्रमा आबद्ध भएर यस कला केन्द्रबाट मञ्चन हुने नाटकहरु खेल्न थाले उनले ।

०२२ सालमा मञ्चन भएकोे ‘गहना’ उनले खेलेको पहिलो नाटक थियो । ०२६ सालमा एसएलसी पास गरेपछि पढ्न र करियर खोज्नका लागि उनी काठमाडौं आए । त्यसपछि नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानमा कलाकारका रुपमा आबद्ध भए । नाटकको भूत धेरै सवार भएपछि पढाई नै छाडेर यतै लागे मदनदास ।

रेडियो यात्रा

नाटक निर्देशक श्यामदास श्रेष्ठले मदनदासलाई भने – ‘तपाईंको स्वर ओजनदार छ, अभिनय पनि राम्रो छ । रेडिया नाटकमा खेल्न आउनुस् ।’

प्रस्ताव स्वीकारेका मदनदासले रेडियो नेपालमा एउटा लाईभ कार्यक्रम गरे श्रीकृष्ण जन्माष्टमीको दिन । त्यसयता, हरिप्रसाद रिमालको निर्देशनमा धेरै नाटक पनि खेले उनले । रिमालकै सहायक निर्देशक भएर पनि काम गरे ।

प्रज्ञा प्रतिष्ठान छाडेर रेडियो नेपालमै नाटकमै काम गर्नेगरी मदनदास त्यही सक्रिय भए । त्यसो गर्नुको कारण खोल्दै भन्छन् – ‘त्यतिबेला रेडियोमा बोल्नुको मज्जा नै बेग्लै थियो, रेडियोमा बोल्नेमात्रै होइन रेडियो हुनेको इज्जत पनि ठूलै हुन्थ्यो ।’

दोलखाबाट काठमाडौं आउनै एक हप्ता लाग्ने युग थियो, त्यो । अहिलेजस्तो सडक थिएन । त्यो बेला काठमाडौं होइन, नेपाल आउने भन्ने चलन थियो ।

नेपाल आउने तय भएपछि त्यसको तयारी दुई महिना अघि देखि सुरु हुन्थ्यो । हिंडेर आउनुपर्ने, भरिया लगाएर चामल र पिठो सबै बोकेर आउनुपर्ने हुन्थ्यो ।

दोलखा, चरिकोट, खरिढुंगा, दोलालघाट, पाँचखाल हुँदै बनेपा आएपछि नेपाल आउनै लाग्यो भन्ने लाग्थ्यो । अनि भक्तपुर आइ लहरी चढेर नेपाल प्रवेश हुन्थ्यो ।

०२८ सालमा बाह्रबिसेसम्म बाटो खुल्यो । त्यसपछि दोलखाबाट डेढ दिन हिंडेर बाह्रबिसे आउने अनि काठमाडौं आउन सकिन्थ्यो । चाँडो हिंड्नेहरु एकै दिनमा पनि आइपुग्थे ।

त्यो जमाना साह्रै महँगो लाग्थ्यो मदनदासलाई । भन्छन्, ‘त्यो बेला एउटा रेडियो किन्न बारीको पाटो नै बेच्नुपर्ने थियो ।’

त्यो बेलाको चल्तिको रेडियो पनि सम्झन्छन् उनी – ‘स्पाइडोला भन्ने ६ वटा ठूलो ब्याट्री लाग्ने चाइनिज रेडियो थियो । ’

उनका बाबु नारायणदास श्रेष्ठलाई छोराले रेडियो नाटक खेलेको मन परेको थिएन । निजामति जागिर खाओस् भन्ने थियो – सुब्बा, शाखा अधिकृत होस् भन्ने थियो । त्यतिबेला नाटक खेलेर पैसा आउँदैन थियो ।

छोराको नाटकप्रतिको लत छुटाउन पिता नारायणदासले सक्दो जोडबल गरेको हो । कहिलेकाहीं राति नाटक गरेर आउँदा घरको ढोकै बन्द हुन्थ्यो, कहिले खाना नै हुँदैन थियो । दाईहरु पनि भाई आवारा भयो भनेर चिन्ता गर्थे ।

तर, मदनदास मान्नेवाला थिएनन् । कलाकारिताको हुटहुटी लागेका उनी कहिले बाहिर सुत्थे, कहिले भोकै सुते । कहिले जितेन्द्र अभिलाषीसँगै (सेनाका कर्मचारी) ब्यारेकमा गएर सुते । तर, नाटकको लत छुटेन । बिस्तारै नाटकबाट पनि पैसा आउन थाल्यो ।

पहिलो तलब मिनेटको ३ रुपैयाँ

रेडियो नाटक खेलेर मिनेटको ३ रुपैयाँ आउथ्यो, मदनदासलाई । कुन पात्रले कति मिनेट बोल्यो भन्ने हिसाब हुन्थ्यो । मुस्किलले महिनाको ४५ रुपैयाँ पुग्थ्यो, त्यही पनि ठूलो थियो ।

एकपटक महिला संगठन साँस्कृतिक उपशाखाले श्यामदास वैष्णवजीको निर्देशनमा ‘कृषिवाला’ नाटक मञ्चन गरेको थियो । त्यो बेलामा उनले एक महिनाजति नाटकका लागि अभ्यास गरे । नाटक खेलेर मोटो रकम पाएको सम्झँदै उनी भन्छन् – ‘१५ दिन नाटकमा काम गर्दा डेढ सय पाइयो । त्यतिबेला नाटकबाट राम्रो पैसा आउँछ भनेर कल्पना गर्न पनि मुस्किल थियो ।’

अहिलेजस्तो धेरै नाटकघर थिएनन्, त्यो बेला । राष्ट्रिय नाचघर, प्रज्ञा प्रतिष्ठानलगायत सिमित ठाउँमा यदाकदा नाटक मञ्चन हुन्थ्यो । धेरै ठाउँमा डबली मञ्च बनाएर नाटक आयोजना गर्ने चलन थियो ।

दरबारियाका लागि भने सिंहदरबारमै थियटर थियो । राम्रो प्रस्तुती दिएका बेला दरबारबाट ‘भोज खानुस्’ भनेर पैसा आउँदा कलाकारहरुलाई ठूलै युद्ध जितेजस्तो लाग्ने जनमा थियो त्यो ।

समानान्तर एउटा, कंकाल, पत्थरलगायत नाटकले उनलाई दर्शकमाझ चिनाउने काम ग¥यो । रेडियोबाट दशैं, कृष्णाष्टमीलगायत अवसरमा प्रसारण हुने नाटकले मदनदासको स्वरलाई देशभर फैलायो ।

‘के घर के डेरा’ फिल्म तथा नेपाल टेलिभिजन खुलेपछि धेरै टेलिफिल्ममा पनि अभिनय गरे उनले । रुद्रराज पाण्डेले निर्देशन गरेको मूर्तिकला सम्बन्धी टेलिफिल्म ‘अमरपुत्र’ ले उनलाई दर्शकमाझ चिनाउन महत्वपूर्ण भूमिका खेलेको मान्छन् मदनदास ।

त्यसमा उनले हस्तिहाडको मूर्ति बनाउने शिल्पकारको भूमिका खेलेका थिए, जो कथाको मुख्य पात्र हो । रेडियो नेपालबाट प्रसारण गरेको ‘जेटिए र बुढी आमै कृषि कार्यक्रम’ अन्तर्गत जेटिएको भूमिकामा पनि धेरै समय काम गरे उनले । चक्रब्यूह, निमित्त नायक, आरोहण–अवतरण, ममता, फ्युुज गएको जिन्दगी, मदनबहादुर– हरिबहादुरलगायत टेलिफिल्म तथा छिल्लो समय ‘तीन घुम्ती’ चलचित्रमा पनि देखिए मदनदास ।

करियरको सुरुवाती समय पाइला–पाइलामा समस्या थिए, आर्थिक अभाव थियो । तर, आफ्नो लक्ष्यमा ध्यान केन्द्रीत गरेर अघि बढे उनी । ती दिन सम्झँदै मदनदास भन्छन् – ‘अभाव र संघर्षले मजबुत बन्न सहयोग ग¥यो, लक्ष्यप्राप्तीमा लम्कन प्रेरित ग¥यो ।’

अझ त्यो भन्दा बढी दर्शकको मायाले यही क्षेत्रमा समर्पित भइरहन उर्जा दिएको मान्छन् उनी । आज प्रविधिमा यति धेरै परिवर्तन आएको छ । रंगकर्मीलाई हेर्ने सोच बदलिएको छ । अब त नाटक बिना बाँच्न नसक्ने मानिस पनि भेटिन्छन्, यस्तो देख्दा निकैखुसी लाग्छ मदनदासलाई ।

‘उहिले त फ्रिमा पास बाँडेर हेर्न आव्हान गर्दा पनि मान्छे आउँदैन थिए ।’ पुराना दिन सम्झँदै उनी भन्छन् – ‘हाम्रो समय नाटक सिकाउने गुरुकुलपनि थिएनन् । गुरुहरुले जे सिकायो, त्यही सिक्ने हो । अहिले नयाँ पुस्ताले पढ्ने अवसर पाए । स्कुलबाटै सिक्ने अवसर पाए । नाटकको महत्व बुझे । सर्वसाधारणले नाटकलाई समाजको ऐना मान्न थाले ।’

कलाकारको क्षमतालाई सम्मान गर्ने परिपाटी बढ्दो छ, यसलाई सकारात्मक लिनुपर्ने बुझाइ छ उनको ।

‘मैले यो समाजमा जे–जति प्रतिष्ठा आर्जन गरेको छु, त्यो कलाकारीता मार्फत् नै हो । मेरो अभाव, संघर्ष र मेहनत एकातर्फ छ, तर दर्शकको मायाबिना कलाकार सफल हुनै सक्दैन ।’ आफ्नो भावना बग्दै भन्छन् मदनदास – ‘त्यसैले सर्वसाधारणबाट पाएको प्रेम, स्नेह र प्रतिष्ठा यही समाजमा केही गर्नका लागि खर्चनेछु ।’

कलाकारितामा मात्र सिमित छैनन् मदनदास । अहिले सामाजिक संघ–संस्थामा समेत लागिपरेका छन् । उनी राष्ट्रिय जेष्ठ नागरिक महासंघको केन्द्रीय अध्यक्ष छन् । दोलखाको खरिढुंगामा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी निर्माण गर्ने अभियानमा पनि सक्रिय छन् उनी ।

फिल्म सिटीले नेपालको पर्यटन, नेपाली चलचित्र उद्योग र कलाकारका लागि ठूलो योगदान गर्नसक्छ । यहाँ डीपीआरको काम सकिइसकेको छ । चलचित्र नगरी जाने बाटोमा प्रवेशद्वार बनाउने तयारी चल्दैछ । त्यो बाटोसँगको आफ्नो सम्बन्ध खुलाउँदै मदनदास भन्छन् – ‘यो त्यही बाटो हो, जहाँ हिंडेर म काठमाडौं आएँ । कलाकार बने ।’

 

प्रतिकृया दिनुहोस