• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

बाँदरले दुख दिएपछि मेकाडामिया नट खेती

रासस

पाेखरा । खेतीबाली लगाउँदा देखि नपाक्दा सम्म अहोरात्र बाँदर कुरेर बस्नुपर्ने बाध्यता सहेका कृषक यतिखेर मेकाडामिया नट खेती तर्फ आकर्षित बनेका छन् । बाँदरबाट जोगाउन सकिने भएपछि विगत चार वर्षयता मेकाडामिया नट लगाउन थालेका पुतलीबजार नगरपालिका–२ भैँसेगौँडाका किसान यसलाई वैकल्पिक खेतीका रुपमा अघि बढाएका हुन् । 

दुःख गर्नु सम्म गर्‍यो क्षण भरमा बाँदरले सखाप बनाइ दिन थालेसँगै त्यसको विकल्प खोजेका कृषकका लागि मेकाडामिया नट  यतिखेर बरदान सावित भएको छ । बाँदरबाट जोगाउन सकिने र आय आर्जनको महत्वपूर्ण विकल्प हुने सम्भावनालाई दृष्टिगत गरी भैँसेगौँडामा २०७२ सालदेखि नै सामूहिक मेकाडामिया नटको खेती सुरु गरिएको हो ।

राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूह गठन गरी साे क्षेत्रका २५ जना कृषक आबद्ध भई सामूहिकरुपमा यसको खेती थालिएको समूहका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए ।मेकाडामिया नटको बिरुवाको बढ्दो मागलाई दृष्टिगत गरी समूहले नर्सरी तयार गर्दै बिरुवा बिक्री वितरण समेत गर्दै आएको छ ।

अध्यक्ष गुरुङका अनुसार यहाँ उत्पादित बिरुवा स्याङ्जाका साथै कास्की, तनहु, सङ्खुवासभा, चितवन लगायतका जिल्लामा पुर्‍याइसकिएको छ । भैँसेगौँडा आसपासका ओरष्टे, कोल्मा, काउले, बाकोट लगायतका स्थानमा व्यक्तिगत रुपमा पनि कृषकले मेकाडामिया नट लगाएका छन् । 

यस आसपासमा मात्रै व्यक्तिगत रुपमा हाल एक हजार ५०० भन्दा बढी बोट लगाइ सकिएको छ ।

ठाउँ-ठाउँमा बाँदरको बिगबिगी रहेको अवस्थालाई दृष्टिगत गर्दै त्यसबाट जोगिने र वर्षौं फाइदा लिन सक्ने भएका कारण यसको खेती थालिएको कृषक बताउँछन् । 

भैँसेगौँडामा ०७२ मा कृषि अनुसन्धान केन्द्र, मालेपाटन पोखराको पहल र साविक राङभाङका २५ जना कृषकको पहलमा पहिलाे पटक नर्सरी तयार गरिएको हो । नर्सरीसँगै आसपासका स्थानीय कृषक व्यक्तिगत रुपमा पनि यसतर्फ अकर्षित बनेको समूहका सदस्य हिम बहादुर गुरुङले जानकारी दिए ।

मेकाडामिया नट खेतीको सुरुअ‌ात अष्ट्रेलियाबाट भएको हो । समशितोष्ण हावापानीको क्षेत्रमा उत्पादन हुने यसको फलमा प्रोटिन, क्याल्सियम फोस्फोरस, पोटासियम, सोडियम, फलाम लगायतका पोषक तत्व पाइन्छ । 

राम्रो उत्पादन गर्नसके मेकाडामिया नटको माग अष्ट्रेलियासम्म हुने गरेको छ । बजारमा प्रतिकिलो रु ८०० सम्म बिक्री हुने गरेको बताउँदै गुरुङले बजारको माग अनुसार पुर्‍याउन धौधौ भएको जानकारी दिए ।

सामान्यतः २५ देखि ३२ डिग्री तापक्रम यो नटका लागि उपयुक्त हुने भएकाले मध्यपहाडी क्षेत्र यसका लागि उपयुक्त मानिन्छ । 

समुद्री सतहबाट लगभग एक हजार २०० देखि एक हजार ३०० मिटर सम्मको उचाइको सिँचाइ युक्त भूभाग यसका लागि उपयुक्त मानिन्छ । भैँसेगौँडा समुद्री सतहबाट एक हजार ५५० मिटरको उचाइमा रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

माग अनुसार प्रत्येक वर्ष नर्सरीमा बिरुवा उत्पादन गरिन्छ । हाल करिब दुई हजार जति बिरुवा बिक्रीका लागि राखिएको छ ।

तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीको सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा भैँसेगौँडा पर्ने भएकाले मेकाडामिया नटको बिरुवा तथा फल उत्पादन गर्न सके बजारको कुनै समस्या नहुने कृषकको तर्क छ ।

सामूहिक प्रयासमा स्थानीयले मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे पनि सञ्चालनमा ल्याइसकेका छन् । कास्कीका ल्वाङघलेल, अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका विभिन्न भू-भागका साथै आसपासका क्षेत्रमा यसको खेती वर्षेनी विस्तार हुँदै गएको छ । 

बाँदर नलाग्नुका साथै टिपिसकेपछि यसको फल लामो समय सम्म सुरक्षित राख्न सकिने भएकाले पनि यस तर्फको आकर्षण बढ्दै गएको हो । उत्पादन समयका दृष्टिले दशैँ तिहारको समयमा फल टिपिने भएकाले नेपालको आन्तरिक बजारमा पनि यसले महत्वपूर्ण स्थान ओगट्न सक्ने देखिन्छ ।

मेकाडामिया नट लगाएको पाँच वर्षमा उत्पादन लिन सकिन्छ भने र झण्डै २० वर्षभन्दा बढी फल्ने गर्दछ । बाँदरको समस्या वर्षेनी बढ्दै गएका अवस्थामा त्यसबाट जोगाउन सक्ने वैकल्पिक खेतीका रुपमा मेकाडामिया नटको विकास तथा विस्तार उपयोगी बन्दै गएको कृषकको तर्क छ ।
 

प्रतिकृया दिनुहोस