नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सकियाे,यी विषयमा छलफल भयाे
काठमाडाैं । नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएकाे छ ।
काठमाडाैंकाे होटल याक एण्ड यतीमा साेमबार सम्पन्न बैठकमा द्वीपक्षीय हित र बहुआयामिक सहकार्यका विविध पक्षमा छलफल भएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
बैठकमा दुवै पक्षबीच समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्ने सहमति भएकाे छ । कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृति लगायत द्विपक्षीय सहयोगका विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।
बैठकमा नेपाली टाेलीकाे नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएकाे थियाे । भारतकाे नेतृत्व भारतीय विदेश सचिव विनयमोहन क्वात्राले गर्नुभएकाे थियाे । बैठकमा नेपाल र भारतीय दुवैतर्फ ७-७ जनाकाे टाेली सहभागी भएकाे थियाे ।
भारतीय विदेश सचिव क्वात्रा साेमबार मध्यान्ह काठमाडाैं आइपुग्नुभएकाे थियाे । यसअघि नेपालका लागि भारतीय राजदूतका रुपमा काम गरिसक्नुभएका क्वात्रा दुई दिन नेपालमा रहनुहुनेछ ।
नेपाल बसाइका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग भेटवार्ता गर्नुहुनेछ ।


प्रतिकृया दिनुहोस